हल्दिबारी । हल्दिवरी गाउँपालिकाले जग्गा वर्गीकरण गर्दा अवैज्ञानिक विधि अपनाएको भन्दै प्रमुख तीन राजनीतिक दलले अबिलम्व वर्गीकरण सच्याउन माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।
जग्गा वर्गीकरण अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले संयुक्त रूपमा पालिका र भूमिसुधार तथा मालपोत कार्यालय झापामा ज्ञापन पत्र बुझाएका हुन् ।
गाउँपालिकामा राप्रपाले बहुमतको आडमा स्थानीय सरोकारवाला दल तथा संघ संस्थाको समन्वय बिना एकलौटी ठेक्का मार्फत जग्गा वर्गीकरण गराएको आरोप लगाउँदै दलहरूले आपत्तिसमेत जनाएका छन् ।
जग्गा वर्गीकरणको बारेमा स्थानीय नागरिकलाई समेत सूचना प्रवाह नगरी आवास तथा कृषि जग्गा बीच भिन्नतासमेत नहुने गरी निर्णय आएपछि स्थानीय त्रसित हुन पुगेको भन्दै दलहरू आन्दोलित भएका हुन् ।
सडक छेउछाउका जग्गा पनि कृषिमै राखिएको छ भने स्थानीयको साविक जग्गा गायव भएको देखिएको भन्दै दलहरुले अविलम्ब सच्चिन चेतावनी समेत दिएका छन् ।
एक हप्ता भित्र जग्गा वर्गीकरण नसच्चिए धर्नादेखि तालाबन्दीसम्मको कार्यक्रम अगाडि बढाइने नेकपा एमाले हल्दिबारी इन्चार्ज नरेश चुडालले जानकारी दिए ।
ज्ञापनपत्रमा नेकपा एमालेका हल्दिबारी अध्यक्ष त्रिलोचन सापकोटा, नेपाली काँग्रेसका पालिका सभापति गंगा प्रसाई र नेकपा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष टिका राउतको हस्ताक्षर छ ।
तीन बुँदे ज्ञापनपत्रमा स्थानीय सरकारको दायित्व स्मरण गराइएको छ । आफ्नो जग्गाको वर्गीकरणको सम्बन्धमा नागरिकले जान्न र कानून बमोजिम सच्याउन पाउने अधिकारको सुनिश्चित गर्न माग गरिएको छ ।
निर्माणाधिन अवस्थामा रहेका विभिन्न आयोजनाहरुको अनुगमन गरी संरक्षण र निर्माणमा निरन्तरता दिने व्यवस्था मिलाउन र कानून विपरित पालिकामा नियुक्त गरिएका कर्मचारीहरुलाई तत्काल विदा गर्न माग गरिएको छ ।