२०८१ फागुन २२, बिहिवार , ०७:५८:०१ बजे

Sajhamanch
'

माओवादी केन्द्रीय समिति अगाडि जनार्दनले बोलाए संगठन विभागको बैठक

मङ्गलवार, साउन १६, २०८०

काठमाडौं । भोलिदेखि बस्ने केन्द्रीय समिति बैठकको तयारीस्वरूप माओवादी केन्द्रको केन्द्रीय संगठन विभागको बैठक बस्दैछ । पार्टी उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दशन शर्मा प्रभाकरका अनुसार आज साढे एक बजेदेखि संगठन विभागको बैठक बस्न लागेको हो ।

‘संगठन विभागका तर्फबाट हामीले प्रतिवेदन तयार पारेर अध्यक्षलाई बुझाई सकेका छौँ । आज भोलि केन्द्रीय समितिको तयारीस्वरूप विभागका तर्फबाट आन्तरिक छलफल गर्नका लागि बैठक बस्दैछौँ,’ उपमहासचिव शर्माले भने ।

आज बस्ने संगठन विभागको बैठकले हटाउनु पर्ने विभाग र संगठन तथा घटाउनु पर्ने विभाग र संगठनका आकारको विषयमा छलफल गर्ने भएको छ ।

माओवादी केन्द्रले यसपटकको केन्द्रीय समितिबाट संगठन र विभागलाई घटाएर चुस्तदुरुस्त बनाउन खोजेको छ । सोमबार र त्यसअघि बसेका पार्टी पदाधिकारी बैठकले संगठन र विभागका आकारहरू भद्दा भएका र जिम्मेवारीमाअनुसार काम हुन नसकेको निष्कर्ष निकाल्दै केन्द्रीय समितिमा परिमार्जनको प्रस्ताव लैजाने तयारी गरेको छ ।

यस्तै पार्टीको केन्द्रीय समितिको पनि आकार ठूलो भएको भन्दै घटाउनु पर्ने प्रस्ताव केही नेताहरूको छ ।

यस्तै बैठकको तयारी अन्तिम चरणमा पुगेको नेता डोरप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्यका लागि आवश्यक परिचयपत्रलायत लजिस्टिकको तयारी केन्द्रीय कार्यालयले गरिसकेको छ ।

पार्टीका पदाधिकारीले दिएका सुझावहरू संकलन गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिन लागिरहेका छन् ।

बुधबार ११ बजेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकअघि बिहान ८ बजेदेखि पार्टी स्थायी समितिको बैठक बस्नेछ ।

पार्टी केन्द्रीय कार्यालयले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बस्ने केन्द्रीय समिति बैठकको तयारी गरिरहेको छ ।

बैठकमा सबै केन्द्रीय सदस्यलाई ५-५ मिनेट बोल्ने समय दिइनेछ भने बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ प्रसारण गर्ने निर्णय माओवादी पदाधिकारी बैठकले गरेको छ ।

केही नेताहरूले आन्तरिक बैठकलाई लाइभ गर्न नहुने मत राखे पनि बहुमत पदाधिकारीले बैठकमा छलफल भएका विषय बाहिर आउँदा तोडमोड भएर आउने हुँदा पारदर्शी बनाउन पनि लाइभ गर्नुपर्ने बताएका छन् ।

यस विषयमा भोलि बिहानको स्थायी समिति बैठकमा पनि छलफल गर्ने माओवादी केन्द्रको तयारी छ ।

सम्बन्धित खबर