बिर्तामोड । प्रेस सेन्टर झापाले स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार यसपटक पत्रकार दीपक अधिकारीलाई प्रदान गरिएको छ ।
भद्रपुरबाट प्रकाशन हुने नौलो आवाज साप्ताहिकका सम्पादक अधिकारीलाई २१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । उनी अढाई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
आइतबार बिर्तामोडमा आयोजित डी. कौडिन्यको स्मृति दिवस समारोहमा प्रदेश सरकारका मन्त्री राजेन्द्र कार्कीले अधिकारीलाई सो पुरस्कार हस्तान्तरण गरेका हुन् ।
सो कार्यक्रममा पुरस्कृत पत्रकार अधिकारीको व्यक्तित्व माथि प्रेस सेन्टरका निवर्तमान अध्यक्ष झुलन रेग्मीले प्रकाश पारेका थिए भने डी. कौडिन्यका विषयमा पत्रकार विमल लामिछानेले चर्चा गरेका थिए ।
प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने, प्रदेश सदस्य मणिकुमार साम्पाङ, नेता सीपी कडरिया, प्रेस सेन्टर नेपालका उपाध्यक्ष विवेक गौतम, कोसी प्रदेश अध्यक्ष बिनोद घिमिरे लगायतको सहभागिता थियो ।