२०८१ मंसिर १४, शुक्रवार , ०५:२०:५० बजे

Sajhamanch
'

कोटीहोमस्थित पीसीआर ल्याव प्रादेशिक अस्पताललाई हस्तान्तरण

आइतवार, साउन ७, २०८०

कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको पीसीआर ल्यावका सम्पूर्ण मेशिन औजार, यन्त्र उपकरणहरु मेची प्रादेशिक अस्पताल भद्रपुरलाई हस्तान्तरण गरिएको छ ।

कोरोना सङ्क्रमण समुदायसम्म देखिन थालेपछि तीन वर्ष अघि मेची प्रादेशिक अस्पताल भद्रपुरको स्वामित्वमा रहने गरी कोटीहोममा ‘एकका लागि एक अभियान’को पहलमा पीसीआर ल्याव स्थापना गरिएको थियो । हाल कोरोना संक्रमण नियन्त्रण भइसकेको अवस्थामा कोटीहोमस्थित पीसीआर ल्याव प्रयोगबिहीन हुन थालेपछि त्यहाँ रहेका मूल्यवान मेशिन औजार, यन्त्र उपकरणहरु प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको ‘एकका लागि एक अभियान’का संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

‘एकका लागि एक अभियान’, कनकाई नगरपालिका र प्रादेशिक अस्पतालबीच भएको सहमति बमोजिम प्रादेशिक अस्पतालले आफ्नो दोस्रो प्रयोगशालाको रुपमा उक्त ल्याबलाई अपनत्व ग्रहण गरेको थियो । हाल संक्रमण नियन्त्रण भइसकेको अवस्थामा उपकरणलाई आवश्यकता अनुसार अस्पतालले प्रयोगमा ल्याउन सक्ने भएकाले स्वास्थ्यसँग सम्बन्धित बहुमूल्य उपकरण अस्पताललाई हस्तान्तरण गरिएको अभियानका संयोजक गिरीले बताए ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रोहबरमा अभियानका संयोजक गिरी र प्रादेशिक अस्पतालका ल्याब इन्चार्ज जितेन्द्र झासहितको हस्ताक्षरमा ल्यावका विभिन्न जिन्सी सामग्रीको विवरणसहित अस्पताललाई हस्तान्तण गरिएको हो ।

एकका लागि एक अभियानको अगुवाईमा विपन्न एक परिवारलाई हुने खाने एक परिवारले सहयोग गर्नका लागि शुरु भएको अभियानबाट मुलुकमै नमूनाको रुपमा सरकारलाई सहयोग पुगेको भन्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जनस्तरबाट स्थापना भएको कोटीहोमस्थित पीसीआर ल्याबको सेवाप्रति अभियानका संयोजक गिरीलाई आभारसहित धन्यवाद ज्ञापन गरेका छन् ।

कनकाई नगरपालिकाका स्वास्थ्यकर्मीहरुबाट सेवा प्रवाह भएको सो पीसीआर ल्याव सञ्चालनमा आएसँगै कोरोना भाइरस संक्रमण नियन्त्रणमा थप टेवा पुगेको भन्दै ल्यावमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीसहित अभियानसँग सम्बन्धित सबैप्रति नगर प्रमुख पोखरेलले आभार प्रकट गरे ।

ल्याव संचालनको आर्थिक व्यवस्थापन कनकाई नगरपालिकाको तर्फबाट भएको हो ।संक्रमणकालीन अवस्थामा कोटीहोमबाट पीसीआर ल्याब सञ्चालनमा आएसँगै तीन वर्षको अवधिमा ९ हजार ३४१ जनाको निःशुल्क नमूना परीक्षण भएको थियो ।

त्यस्तै ३९ हजार ५२५ जनाको सःशुल्क गरी जम्मा ४८ हजार ८६६ नमूना परीक्षण भएको ल्यावको व्यवस्थापन तर्फका स्वास्थ्यकर्मी ईन्द्रहरि भट्टराईले जानकारी दिए । कोटीहोमस्थित पीसीआर ल्यावमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ साथै मोरङको केही भागबाट समेत सङ्कलित नमूना परीक्षण भएको भट्टराईले जानकारी दिए ।

सम्बन्धित खबर