२०८१ कार्तिक ३०, शुक्रवार , १०:३८:०७ बजे

Sajhamanch
'

खरिद ऐनलाई बेवस्ता गर्दा नमुना विद्यालयका लागि आएको जनआदर्श माविको ५२ लाख फ्रिज

सोमवार, साउन १, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी ६ स्थित नमुना विद्यालयको रुपमा संघीय सरकारबाट आएको श्री जनआदर्श माध्यमिक विद्यालयको ५२ लाख रकम फ्रिज भएको छ ।

संघीय सरकारले नमूना शैक्षिक विकासका लागि रकम विनियोजन गरी सशर्त अनुदान रकम शिवसताक्षी नगरपालिकालाई पठाए पनि विद्यालय प्रशासनको नीतिगत ढिलासुस्तीले उक्त रकम फ्रिज भएको हो ।

उक्त रकम अन्तर्गत जनआदर्श माविले नगरबाट विनियोजित प्रोत्साहन रकम दुई लाख ६६ हजार भने भुक्तानी पाइसकेको छ । खरिद नियमानुसार बोलपत्र आवाहन गरेर मात्र विद्यालयमा सामाग्री खरिद गर्नु पर्ने प्रावधान हुँदा हुँदै त्यसलाई मिचेर विद्यालय प्रशासनले सामान खरिद गर्दा यो समस्या आएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

खरिद नियम अनुसार सामान खरिद गर्नु भन्दा अगाडि सार्वजनिक खरिद प्रक्रिया पु¥याउन पत्रिकामा १५ दिने बोलपत्र आह्वानको सूचना प्रकाशित गर्नुपर्ने नियम छ तर विद्यालय प्रशासनले त्यो नियम पूरा नै नगरी सामानहरु समेत खरिद गरिसकेको छ ।
नगरपालिकाले खरिद ऐन भित्र रहेर विद्यालय सामाग्री खरिद गर्न पटक पटक जानकारी गराएको शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईले जानकारी दिए । उनले भने, हामीले रकम फ्रिज हुन नदिन विद्यालय प्रशासनलाई निरन्तर खवरदारी गरिह¥यौ । तर विद्यालय प्रशासन नगरपालिकालको सुझाबलाई वेवस्ता गर्दै बेपत्ता भयो ।
अन्तिम समयमा रकम भुक्तानीका लागि विद्यालय प्रशासनले ल्याएको कागजात प्रक्रियामा पुरा नभएको देखिएपछि भुक्तानी रोकेको अधिकृत राईले बताए ।

नमुना विद्यालयका लागि शिक्षा नियम ऐन तथा निमायवली बमोजिम विद्यालय व्यवस्थापन गठन हुनु पर्ने, विद्यालय व्यवस्थापन समिति पुर्ण कालिन प्र.अ.नियुक्ती गर्नु पर्ने प्रावधान रहेको छ । विद्यालय व्यवस्थान गठन र पूर्णकालिन प्रअ नियुक्ति प्रकृया ढिला भएको कारण पनि विद्यालयले समयमा काम गर्न नसकेकोे नगर शिक्षा अधिकृत छवि ढकालले जानकारी दिए । उनले भने, शिक्षा शाखाले काम भए नभएको अनुगमन गर्छ र त्यसको प्रतिवेदनका आधारमा मात्र भुक्तानी गर्ने प्रकृयामा जान्छ । विद्यालयले सामाग्री खरिदका लागि बोलपत्र आवहान गर्ने समय हुँदा हुँदै पनि प्रकृयामा नगई सामाग्री खरिद गरेको देखिएको शिक्षा शाखा प्रमुख ढकालले बताए । आर्थिक वर्ष २०८०÷८१ का लागि २० लाख रुपैयाँ रकम विनियोजन भएको छ । त्यसमा नगरपालिकाले केहि व्ययभार वहन गरेर काम गर्न सक्ने अवस्था भने रहेको उनले बताए ।

शिवसताक्षी नगरपालिका भित्रका शिक्षा क्षेत्रको विकासका लागि आएको रकम फिर्ता भएकोमा धेरै दुःख लागेको नगर उपप्रमुख नरमाया कार्कीले बताइन् । नमुना विद्यालयको रुपमा आएको रकम विद्यालय व्यवस्थापन समितिले जिम्मेवारीका रुपमा काम गर्न नसक्दा रकम फिर्ता भएको हो । उनले भनिन् हामीले उक्त रकमलाई फिर्ता हुन नदिनका लागि धेरै पटक सम्बन्धित पक्षहरुसँग छलफल गर्यौ । तर विद्यालय व्यवस्थापन समिति र विद्यायलल प्रअ.ले खरिद प्रकृयालाई व्यवस्था गर्दा रकम फ्रिज भयो । यसले नगरको शिक्षाको विकासमा धेरै बाधा भएको उपप्रमुख कार्कीको भनाई छ।
नमुना विद्यालयको रुपमा आएको रकमले विज्ञान प्रयोगशालाका विविध सामग्रीहरु, खेलकुदका आवश्यक सामग्रीहरु, सिसिक्यामेरा लगायतका सामानहरु खरिद गरेर जडान गरिसकेको जन आदर्श माविका प्रधानाध्यापक तुलसीप्रसाद अधिकारीले जानकारी दिए । विद्यालयले जेठ ३० गते नगरपालिकासँग कामका लागि सम्झौता गरेका थियो । असार २० गते रकम भुक्तानी लिन जाँदा प्रक्रिया नपुगेको भन्दै नगरपालिकाले फर्काएको उनको भनाई रहेको छ ।

विद्यालयका प्रधानाध्यापक अधिकारीले सबै काम आफूले नै गर्नुपर्ने भएकाले प्रक्रियामा ढिलासुस्ती हुँदा रकम फ्रिज भएको स्वीकारेका छन् । उनले विद्यालयको नीतिगत आन्तरिक समस्याका कारण खरिद प्रक्रियामा समय अभाव हुँदा कानूनी नियम पूरा गर्न नसकेकाले रकम फ्रिज भएको हो । विद्यालय प्रशासनले कोशिस गरेर नियम सम्मत काम गर्न खोजिएको हो तर काम छिटो होस् भन्ने हेतुले समान खरिद गरेर विद्यालयमा लगाइसकेका छौं । यसका लागि नगरले पहल गरिदिए हुने थियो भन्ने नगरसँग आशा व्यक्त गरेका छन् ।

गत २०७९÷०८० को आर्थिक वर्षमा संघीय सरकारले नमूना शिक्षा विकासका लागि झापामा एक करोड ५२ लाख रुपैयाँ विनियोजन गरेको थियो । जस अनुसार कमल गाँउपालिका–२ स्थित क्याम्पाको कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय र शिवसताक्षी नगरपालिका वडा नं. ६ को जनआदर्श माविका लागि भदौमा नै रकम आएको बताइएको छ । गत वर्ष पनि सोहि योजना अन्तर्गतको ६५ लाख रुपैयाँ फ्रिज भएको थियो तर पछि नगरपालिकाले समन्वय गरेर काम गरिएको जन आदर्श माविका प्रधानाध्यापक अधिकारीको भनाइ छ । संघीय सरकारबाट विनियोजन रकम बिना सर्त विद्यालयलाई नगरपालिकाले दिनुपथ्र्यो त्यस्तो नभएको प्रधानाध्यापक अधिकारीले गुनासो गरे ।

सम्बन्धित खबर