झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्की (जङ्गे)लाई उच्च अदालत विराटनगरको इलाम इजलासले ६ महिना जेल सजाय गर्ने जिल्ला अदालत झापाले गरेको फैसला सदर गरेको छ।
वडाध्यक्ष कार्कीसहित सोही प्रकृतिको मुद्धामा विपक्षी रहेका भवकृष्ण न्यौपाने, पुष्प अधिकारी, सूर्यबहादुर खड्का, शनिलाल राजवंशीको पनि सुरु फैसला सदर भएको हो । न्यायाधीशद्वय लोहितचन्द्र शाह र गीताप्रसाद तिम्सिनाको संयुक्त ईजलासले गत जेठ २४ गते उक्त फैसला सुनाएको हो ।
जिल्ला प्रशासन कार्यालय झापाको जाहेरीमा २०७९ वैशाख ११ गते उक्त मुद्धा पुनरावेदनका लागि उच्च अदालत विराटनगरको इलाम इजलास दर्ता भएको थियो ।
वडाध्यक्ष कार्कीले घुस रकम लिएर किर्ते सिफारिस गरी नागरिकता बनाइ दिएको अभियोगमा ६ महिना कैद गर्ने झापा जिल्ला अदालतले फैसला सुनाएको थियो। सो फैसलाका सम्बन्धमा फेरि उच्च अदालत ईलामले सोही फैसला सदर गरेको हो ।