अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा चालूआर्थिक वर्ष २०७९/०८० मा ३० किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरेको जनाइएको छ । भौतिक पूर्वाधारका क्षेत्रमा नगरपालिकाले उल्लेखनीय कामहरुमध्ये प्रदेश र संघीय सरकारबाट प्राप्त बजेटबाट यति धेरै सडक कालोपत्रे गरेको पाइएको हो ।
२०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले भौतिक पूर्वाधारका क्षेत्रमा यस्तो उल्लेखनीय काम गरेका हुन् । अघिल्लो कार्यकालको स्थानीय सरकारले सुरु गरेका योजनालाई पूर्णता दिँदै चालू आर्थिक वर्षमा ३० किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरेको नगरपालिकाले जनाएको छ ।
नगरद्वारा सञ्चालन भएका हरेक योजना गुणस्तरीय हुनुपर्छ भन्ने मान्यताअनुसार नगरप्रमुख बलदेब गोम्देन हरेक योजना सञ्चालन भइरहेको स्थलमा पुगेर मापदण्ड अनुसार काम गराउने गरेको स्थानीय बताउँछन् ।
निर्वाचित भएको १ वर्ष पूरा हुँदैगर्दा नगरभित्र विद्युत नपुगेको ठाउँमा विद्युत विस्तार भएको छ भने नागरिकलाई सञ्चारसँग जोड्नका लागि नेपाल टेलिकमसँगको सहकार्यमा ५ वटा बिटिएस टावर विस्तार गरेको जनाइएको छ ।
नगरपालिकाले पर्यटन प्रवर्धनका क्षेत्रमा समेत काम गरिरहेको जनाइएको छ । वडा नम्वर १ मा रहेको हलुवागड सिमसार क्षेत्रको प्रबर्धनका निम्ति तीनै तहका सरकारको समन्वयमा धेरै काम भएको नगरपालिकाले जनाएको छ ।
हरेक नागरिकका आँगनमा कालोपत्रे सडक पुग्नुमात्र विकास होइन । त्यो कोलोपत्रे सडक जनताको आँगनमा पुग्दा सडकले नागरिकको जीवनस्तरमा परिवर्त पनि ल्याउन सक्नु पर्दछ । भौतिक पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी लगायतका क्षेत्रमा जनप्रतिनिधिहरुले गम्भीरतापूर्वक मनन गर्न आवश्यक छ ।