२०८१ मंसिर १४, शुक्रवार , ०४:१५:५२ बजे

Sajhamanch
'

आगलागीबाट चारजनाको ज्यान गएको स्थल चिहानघारीमा जस्तै जंगलले जेलियो

शुक्रवार, जेठ १९, २०८०

लालझोडा (शिवसताक्षी) । त्यो रातको दर्दनाक घटना, एकै परिवारका चारजनाको सुतेकै ठाउँमा जलेर मृत्यु भएको दिन । घटना २०७५ साल मंसीर १० गतेको हो । आज त्यो स्थान देख्दा पनि धेरैको मन अतासिन्छ ।

सुन्दै भयानक घटना, देख्ने र भोग्नेहरुका लागि झन् कति पीडादायी थियो त्यो समय । घर खरानीमात्र भएन, लक्ष्मण खनाल र उनको सिङ्गो परिवारको जलेर मृत्यु भयो । सो पछि उक्त ठाउँको स्याहार सम्हार नहुँदा अहिले घटनास्थलको अवस्था एकदमै डरलाग्दो छ ।

सो घटनास्थलमा अहिले बनमारा, तितेपाती जस्ता जङ्गली बिरुवाले जेलेको छ । कतैकतै आगोबाट जोगिएका फूलका बिरुवाहरुको बोट बनेर फूलेको पनि देख्न सकिन्छ । त्यहा“ वरपर हिंड्दा पुरानो घटना ताजा हुने भएर सर्वसाधारण नहेरी हिंड्न चाहन्छन् । उक्त घटनास्थलमा ठूलो घारी भएकाले बालबालिकाहरु त डराउने नै अवस्था छ ।

आगलागी हुँदा बचेको एउटा शौचालय अहिले पनि ठिङ्ग उभिएको छ । तर त्यसको वरिपरी छोपिने गरी झ्यास पलाएको छ । उक्त जमिनको संरक्षण गर्न परिवारको पनि आँट पुगिरहेको छैन । कुनै उत्तराधिकारी नभएको बेवारिसजस्तै आगलागीमा डडेका खाँबोहरु ठडिएकै छन् ।

उक्त दिनको घटना सम्झँदै स्थानीय भाष्कर अधिकारी भन्छन्, ‘घरमा आगो सल्किएर निकै ठूलो रुप लिएपछि लक्ष्मण र उनकी पत्नी राधिकाले गुहार मागेको सुन्यौं । हामी स्थानीय बासिन्दाहरु आफ्नो घर बाहिर निस्कँदा रातको १० बजेर ३० मिनेटको समय भएको थियो । खनालको घरमा आगो दन्दनी बलेर विशाल रुप लिएपछि आगो निभाउन सकिएन ।’

‘आगलागीको घटना थाहा पाउने वित्तिकै प्रहरी र दमकललाई खबर भयो । शिवसताक्षी नगरपालिकामा दमकल थिएन, अन्य पालिकाबाट गुडेका दमकल घटनास्थल नपुग्दै खनाल परिवारको भान्सामा भएको ग्यास सिलिण्डर विष्फोट भयो । सो विष्फोटबाट स्थानीय एक महिलाको हातमा सिलिण्डरको टुक्राले लागेर उनी पनि घाइते भइन् । उता अघिसम्म गुहार मागिरहेका खनाल परिवार हलचल गर्न छाडिसकेका रहेछन्’ स्थानीय अधिकारी बेलिविस्तार लगाउँछन् ।

खनाल परिवार लालझोडामा बस्न गालेको करिब ७ वर्षमात्र भएको अर्का स्थानीय नरबहादुर नेपाली सुनाउँछन् । उनका अनुसार घटनामा परेको परिवारमा ३५ वर्षका लक्ष्मण खनाल उनकी ३१ वर्षीया श्रीमती राधिका, ५ वर्षकी एक छोरी र एक वर्षका एक छोरा थिए । लक्ष्मणले जिवीकोपार्जनका लागि ट्याक्टर किनेका थिए । उनी आफ्नो सम्पूर्ण समय ट्याक्टर र परिवारसँग बिताउने गरेको नेपालीलाई सम्झना छ ।

स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो निभाउँदा घरका खाबाहरु मात्र बा“की रहे । स्थानीय बासिन्दा र जनप्रतिनिधिहरुले सो स्थानमा मृतक चारैजनाको स्मृतिमा स्मारकसहित केही बनाउँ भन्ने सल्लाह दिँदा मृतक लक्ष्मणका बुवाले निर्णय नदिएकाले घटनास्थल अहिले बेवारिसेजस्तै रहेको अर्का स्थानीय तुलसी निरौला सुनाउँछन् ।

घटना कसरी भयो अझै अनुसन्धानको विषय बनिरहेको छ । अझै पनि त्यो घटना बारे सत्य, तथ्य पत्ता लागेको छैन र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

तर पनि एकै परिवारका चारजनाको एकै चिहान हुनेगरी आगोले सिङ्गो घर जल्ने वातावरण बन्नुमा शिवसताक्षी नगरपालिकामा दमकलको अभाव हुनु अर्को मुख्य कारण भएको स्थानीय बासिन्दा शुसिल गिरीको भनाई छ । ‘त्यो बेला हाम्रो नगरपालिकामा दमकल हुन्थ्यो भने सायदै यत्रो घटना हुँदैन थियो होला’ गिरीको अनुमान छ ।

– प्रशिक्षार्थी आस्मिका निरौला

सम्बन्धित खबर