२०८१ मंसिर १०, सोमवार , १२:३७:३७ बजे

Sajhamanch
'

अत्याधिक गर्मीका कारण विद्यालय विदा गरिँदै, बिर्तामोडमा कहिले ?

बिहिवार, जेठ १८, २०८०

झापा । दिनहुँ अत्यधिक गर्मी बढ्न थालेका कारण तराई क्षेत्रमा केही स्थानीय तहले विद्यालय विदा दिने निर्णय गरेका छन् । तर ४० डिग्री सेल्सियसको तापक्रम झेलिरहेको बिर्तामोड नगरपालिकामा यो सम्बन्धी निर्णय हुन सकेको छैन ।

झापाको मेचीनगर नगरपालिकाले दुई दिन, दमक नगरपालिकाले दुई दिन र कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन स्थगन गर्ने निर्णय गरेका छन् । ती पालिकाहरु बर्खे विदामा मिलान गर्ने गरी हाल उक्त दिनहरु विदा गरिएको सूचना जारी गरेका छन् ।

कचनकवलले आज जेठ १८ देखि जेठ २२ गतेसम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवद्वारा जारी सूचनामा उल्लेख छ ।

गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट कट्टा हुने गरी गाउँपालिकाका सबै सामुदायिक विद्यालय बन्द गर्न निर्देशन दिइएको छ ।

यसैगरी मेचीनगर नगरपालिकाले पनि गर्मीकै कारण दुई दिनका लागि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिएका छन् ।

यस्तै दमक नगरपालिकाले पनि जेठ १८ र १९ गते विद्यालय बन्द गराएको छ । शिक्षा अधिकृत प्रविण खड्काले सूचना प्रकाशन गरेर उक्त दुई दिन विदाको जानकारी गराएका हुन् ।

झापामा बुधबारको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस थियो । तर अन्य पालिकाहरुले यस्तो गर्मीमा पनि विद्यालय विदा दिएर बालबालिकाको सुरक्षातर्फ ध्यान दिइरहेका छैनन् ।

बिर्तामोड नगरपालिकाका शिक्षा अधिकृत तिलचन भण्डारीले अभिभावकबाट धेरै गुनासो आइरहेकाले आज बिहीबार सो सम्बन्धी केही निर्णय हुनसक्ने बताएका छन् । उनले पहिलो चरणमा भोलि शुक्रबार र आइतबार दुई दिन विदा हुनसक्ने संकेत गरे पनि निर्णय भइनसकेको बताएका छन् ।

गर्मी बढेपछि विराटनगर महानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकाका विद्यालयमा पनि दुई दिन बिदा दिइएको छ ।

महानगरपालिका र उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थामा आज बिहीबार र भोलि शुक्रबार बिदा दिने निर्णय गरेका हुन् ।

अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बिदा दिने निर्णय भएको हो ।

गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावना बढेपछि बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।

नगर शिक्षा समितिको निर्णयअनुसार महानगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे बिदाबाट कट्टा हुनेगरी दुई दिन महानगर क्षेत्रभित्र सञ्चालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।

पूर्वनिर्धारित परीक्षाहरु भने यथावत रुपमा सञ्चालन हुने जनाइएको छ ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले पनि गर्मीका कारण २० गतेसम्मका लागि विद्यालयलाई बिदा दिने निर्णय गरेको जनाएको छ ।

विराटनगरले १८ र १९ गते बिदा दिए पनि २० गते शनिबार परेकोले विद्यालय आइतबार मात्रै सञ्चालनमा आउनेछन् ।

सम्बन्धित खबर