कमल । झापाको कमल गाउँपालिकाले सामुदायिक कुकुरलाई निःशुल्क बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ ।
गाउँपालिका भित्र रहेका सामुदायिक कुकुरका कारण धेरै समस्या उत्पन्न भएपछि त्यसको न्यूनीकरणका लागि बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गरिएकोे हो । नेपाल एग्री लाईभष्टक ट्रेनिङ्ग एण्ड रिसर्च सेन्टर इटहरीको प्राविधिक सहयोगमा शिविर सञ्चालन भइरहेको छ ।
सामुदायिक कुकुरले गाउँमा कृषकका बाख्रा, कुखुरा, पाडाबाछा खाने, साइकल तथा मोटरसाइकल लखेट्ने र सवारी दुर्घटना गराउनेसम्मका घटना हुने गरेका छन् । तिनले मान्छे टोक्ने क्रम निरन्तर बढेपछि सो को न्यूनस्करणका लागि पालिकाले आफ्नै खर्चमा सामुदायिक कुकुरको बन्ध्याकरण र निःशुल्क खोप अभियान सञ्चालन गरेको ३ नम्वर वडाध्यक्ष अग्निप्रसाद कोइरालाले जानकारी दिए ।
गाउँपालिकाले गत वर्ष वडा नम्बर ५ का सामुदायिक कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाएको थियो । यो वर्ष वडा नं. ३ र ६ का ४५० वटा कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने कार्यक्रम रहेको वडाध्यक्ष कोइरालाले बताएका छन् ।