२०८१ मंसिर १४, शुक्रवार , ०२:३५:४५ बजे

Sajhamanch
'

भद्रपुरका सुत्केरी र गर्भवतीलाई पोसिलो खानेकुरा वितरण सुरु

बुधवार, वैशाख २७, २०८०

भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले नगरभित्रका सुत्केरी तथा गर्भवती महिलालाई पोसिलो खानेकुरा वितरण गरेको छ । नगरसभाले आर्थिक वर्ष २०७९/०८० को लागि स्वीकृत गरेको बजेट अनुसार पालिकाभित्रका सुत्केरी तथा गर्भवती महिलालाई आजदेखि पोसिलो खानेकुरा वितरण शुरु गरिएको हो ।

भद्रपुर नगरपालिकाको ‘आमासँग उपप्रमुख कार्यक्रम’अन्तर्गत वडा नं ६ बाट पोसिलो खानेकुरा वितरण शुरु गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका मनोज भट्टराईले जानकारी दिए । नगरपालिकाको सभाहलमा आयोजित संक्षिप्त समारोहका बीच एकजना बराबर एक केजी घिउ, आधा केजी मह र एकथान झुलसहितको प्याकेज वितरण गरिएको हो ।

नगरपालिकाको सामाजिक विकास शाखाका संयोजक सीता गुरागाईंको अध्यक्षतामा स्वास्थ्य शाखाका निर्मला निरौलाले सञ्चालन गरेको कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलगायतले महिलाहरुलाई पोसिलो खानेकुरा वितरण गरेका हुन् ।

पोसिलो खानेकुराकै अभावमा हुनसक्ने मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रमबाट चालू आर्थिक वर्षमा करिब ९०० सुत्केरी तथा गर्भवती महिला लाभान्वित हुनेछन् ।

स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईका अनुसार सो कार्यक्रम भित्र समेटिन कम्तीमा चारपटक सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच भएको र सरकारी अस्पतालमा प्रसूती भएको हुनुपर्ने छ ।

सम्बन्धित खबर