बिर्तामोड । भारतको राजस्थानमा रहेको डुण्डलोड शिक्षण संस्थाले नेपाली विद्यार्थीहरुको भर्ना अपेक्षासहित प्रचार अभियान चलाएको छ । हालसम्म नेपाली विद्यार्थीका रुपमा बिर्तामोडकी एक बालिकामात्र अध्ययन गर्ने सो स्कूलले गुणस्तरीय शिक्षाका लागि उत्कृष्ट गन्तब्य भन्दै नेपालबाट अध्ययनका लागि विद्यार्थीहरुलाई आह््वान गरेको हो ।
स्कूल ब्यवस्थापनले सोमबार झापाको बिर्तामोडमा पत्रकार भेटघाट गरेर नेपाली विद्यार्थीलाई प्राथमिकतामा राखेर छात्रवृत्तिसमेत उपलब्ध गराउने जानकारी दिएको छ । स्कूल ब्यवस्थापनका सेक्रेटरी विएल रणवाले अन्तर्राष्ट्रियस्तरको शिक्षा सुलभ शुल्कमा उपलब्ध गराउँदै आएको दावी गर्दै आफ्नो विद्यालयमा ब्यवहारिक शिक्षा र नैतिक शिक्षा प्रदान गरिने बताए ।
उनले बोर्डिङ र डेस्कूल, डे स्कूल र गल्स स्कूल तीन फरक संरचनामा विद्यालय सञ्चालन भइरहेको बताउँदै सुरक्षाको राम्रो ब्यवस्था रहेको दावी गरे । कक्षा १२ सम्मको अध्ययनका लागि गुणस्तरीय शैक्षिक प्रतिष्ठान भएकाले नेपालका अभिभावकहरुले सो स्कूलमा आफ्ना छोराछोरी पठाउने विश्वास रणवाले ब्यक्त गरे ।
शिक्षाको लागि देशको भौगोलिक सिमाना नहुने भन्दै रणवाले नेपाली विद्यार्थीको रोजाईमा पर्न डुण्डलोड सफल हुनेसमेत दावी गरे ।
डुण्डलोडमा बच्चा पढाइरहेकी बिर्तामोडकी निलम अग्रवालले स्कूल ब्यवस्थापनको उच्च प्रशंसा गरिन् । उनले बच्चाको सुरक्षा, ब्यवहारिक शिक्षा लगायतमा पूर्ण विश्वस्त रहेको धारणा राखिन् । बच्चाको बसाई, खानपान र अध्ययनमा स्कूलले सम्झौता नगरेको पाइएको उनको भनाई थियो ।
(हेर्नुस् भिडियो)