२०८१ मंसिर १३, बिहिवार , ०३:५६:०४ बजे

Sajhamanch
'

चट्याङ लागेर पाँचथरको फालेलुङमा एकै गोठका ५४ भेडा मरे

आइतवार, वैशाख १७, २०८०

पाँचथर । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं. ३ देउरालीमा चट्याङ लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् ।

स्थानीय प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले संयुक्त रुपमा सञ्चालन गर्दै आएको भेडीगोठका ५४ वटा भेडा चट्याङ लागेर मरेका हुन् ।

चरनमा गएको बेला गान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई शनिबार साँझ चट्याङले लागेको र आधिसरो भेडा मरेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार चट्याङ लागेर ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेका छन् । मरेका मध्ये अधिकांश माउ भेडा छन् ।

चट्याङले लागेर भेडाको रेखदेख गर्दै आएका याङवरक गाउँपालिका–३ घर भएका ५५ वर्षीय प्रेम राई पनि घाइते भएका छन् । प्रहरी प्रमुख खतिवडाका अनुसार बाहिरी चोट नदेखिए पनि राईको शरीरको दायाँ पाटो नचलेका कारण स्थानीय स्वास्थ्यचौकीमा उपचार थालिएको छ ।

उक्त गोठमा १३० भन्दा बढी भेडा रहेका थिए । भेडा मरेपछि क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर