झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको लागि निःशुल्क रगतको व्यवस्था गरेको छ ।
बिरामी भएर रगत आवश्यक परेको अवस्थामा वडाले निःशुल्क रगत उपलव्ध गराउने भएको हो । त्यसका लागि वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटी झापाबीच शुक्रबार द्विपक्षिय सम्झौतामा हस्ताक्षर भएको छ ।
बिर्तामोड वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे र नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
वडाले निःशुल्क रगत उपलब्ध गराए पनि रेडक्रस झापालाई भने वार्षिकरुपमा शुल्क तिर्नु पर्नेछ । वडाले हरेक वर्ष एक लाख रुपैयाँ बुझाउने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको वडाअध्यक्ष पाण्डेले जानकारी दिए । विपन्न परिवारका लागि अब हरेक वर्ष रगत निःशुल्क गर्ने योजना रहेको वडाध्यक्ष पाण्डेले बताए ।
बिरामीको लागि रगत आपूर्तिमा निःशुल्क वडा बनाउने उद्देश्यका साथ वडाअध्यक्ष स्वास्थ्य सहायता कार्यक्रम लागू गरिएको नगरपालिकाका प्रवक्तासमेत रहेका वडाअध्यक्ष पाण्डेले जानकारी दिए । यो कार्यक्रम लागू भएपछि लक्षित वर्गले १ युनिट रगत प्राप्त गर्दा लाग्ने खर्च ९५० रुपैयाँ बचत हुनेछ ।
रगत प्राप्त गर्नको लागि आकस्मिक अवस्थामा बिर्तामोड नगरपालिका वडा नम्बर १ को बासिन्दा भएको कुनै पनि प्रमाण पत्रको प्रतिलिपि पेश गर्नुपर्ने छ । अन्यथा वडाको सिफारिस अनिवार्य छ । यो कार्यक्रम बैशाख महिनाको अन्तिम सातादेखि लागू हुने वडा कार्यालयले जनाएको छ ।
यस प्रकारको कार्यक्रम जिल्लाको मेचीनगर, भद्रपुर, बाह्रदशी लगायतका पालिका तथा वडाहरुमा लागू गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिएका छन् ।