२०८१ असोज ३, बिहिवार , १२:५१:४९ बजे

Sajhamanch
'

प्रथम प्रदेशस्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता : मिक्लाजुङ सेमिफाइनलमा

आइतवार, वैशाख १०, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम प्रदेशस्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आज सम्पन्न खेलबाट मोरङको मिक्लाजुङ गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–१० स्थित महेन्द्रज्योति माविको खेल मैदानमा भएको खेलमा महमाई एकता क्लब इलामलाई १–० गोल अन्तरले पराजित गर्दै मोरङको मिक्लाजुङ गापाको टिम सेमिफाइनलमा प्रवेश गरेको हो ।

बिर्तामोड–१० स्थित सैनिकमोडको ‘अल इन वान’ क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा मिक्लाजुङका लागि पूर्णिमा राईले खेलको ८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

विपक्षी खेलाडीले डी–एरिया भित्र मिक्लाजुङकी खेलाडी सम्झना बेघालाई लडाएपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै उनले टिमका लागि एक गोल गरेकी थिइन् ।

खेल अवधिभर दबावमा परेको महमाईले भने गोल स्कोर गर्न सकेन । मिक्लाजुङले पाएको पेनाल्टी प्रहारको अवसर उसका लागि दुर्भाग्य बन्यो ।

उत्कृष्ट खेल प्रदर्शन गरेको मिक्लाजुङले गोल गर्ने थुपै अवसर पाए पनि महमाईकी गोल रक्षक पवित्रा लिम्बूले विफल पारिदिइन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी महमाईकी गोल रक्षक लिम्बू ‘प्लेयर्स अफ दि म्याच’ घोषित भइन् । उनले नगद ३ हजार रुपैयाँ पुरस्कार पाइन् । उनलाई बिर्तामोड–१० का वडाध्यक्ष दूर्योधन गुरुङले पुरस्कार प्रदान गरेका थिए ।

१६ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजक संस्था ‘अल इन वान’ क्लबलका अध्यक्ष कृष्ण योञ्जनले जानकारी दिनुभयो ।

प्रतियोगितामा भोलि सोमबार नमोबुद्ध युवा क्लब सप्तहरी र ताप्लेजुङ महिला फुटबल क्लब बिच प्रतिस्पर्धा हुने छ ।

झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, उदयपुर र सप्तरीका ८ वटा टिमको सहभागिता रहने आयोजकले बताएको छ ।

सम्बन्धित खबर