कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. ३ स्थित गोहीखाडीमा रहेको जनचेतना आधारभूत विद्यालयमा दाताको सहयोगमा स्टेज निर्माण गरिएको छ ।
झापाको गौरादह ५ स्कूलचौन घर भई हाल अमेरिकामा बस्दै आएकी राधा बाँस्कोटाले स्वर्गीय आफ्न्तहरुको नाममा विद्यालयको स्टेज निर्माण गरिदिएकी हुन् ।
हाल अमेरिकास्थित सन फ्रान्सिस्को क्यालिफोर्नियामा बस्दै आएकी बाँस्कोटाले आफ्नी आमा स्वर्गी इन्दिरा शर्मा भट्टराई, ससुराबुवा स्वर्गीय दिननाथ बांस्कोटा तथा सासुआमा स्वर्गीय खिमादेवी बाँस्कोटाको स्मृतिमा विद्यालयमा स्टेज निर्माण गरिदिएकी हुन् ।
दाता बाँस्कोटाको आमा इन्दिरा शर्मा भट्टराई ताप्लेजुङस्थित हाङ्देवा ५ कटहरे हाल फुङलिङ नगरपालिका ६ मा रहेको तमोरनदी आधारभूत विद्यालयकी शिक्षक थिइन् । उनको २०७४ सालमा मृत्यु भएको थियो ।
कनकाई निवासी समाजसेवी शेरबहादुर थापामार्फत विपन्न विद्यार्थी अध्ययनरत पुरानो सामुदायिक विद्यालयमा स्टेज अभावमा विभिन्न समयमा हुने कार्यक्रम गर्न समस्या भएको थाहा पाएपछि सहयोग गरेको बाँस्कोटाले बताइन् । उनले समाजसेवी थापाको आग्रह र अनुरोधमा विद्यालयको भौतिक निर्माणमा सहयोग गरेको बताइन् ।
बाँस्कोटाले सामाजिक उत्तरदायित्व तथा मानवीय नाताले पनि सहयोग गरेको बताइन् । स्टेजका लागि दाता परिवारबाट आवश्यक, रड, सिमेन्ट, जस्तापाता, फलाम, मिस्त्री ज्याला तथा रङरोगन गरी १ लाख ८१ हजार २५४ रुपैंया खर्च भएको जनाइएको छ ।
त्यस्तै आज शुक्रबार विद्यालयको रजत महोत्सव तथा २६औं वार्षिक उत्सव समारोहमा कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेलले दाता परिवारका सदस्यको अनुपस्थितिमा स्टेज निमार्णको संयोजक समाजसेवी थापा मार्फत दाता परिवारलाई सम्मानसमेत गरिएको छ । प्रमुख अतिथि पोखरेलले सम्मानपत्र प्रदान गरेका थिए ।
त्यस्तै कनकाई नगरले पनि विद्यालयको भौतिक निमार्णमा ६५ हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ । वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।