गौरादह । अन्तरपार्टी संगठनात्मक क्षेत्रको कामको पहिचान, समग्र उठान, सुदृढिकरण र बिस्तारका लागि नेकपा (एमाले) केन्द्रीय कमिटीले देशव्यापी रूपमा सञ्चालनमा ल्याएको मिसन ग्रासरुट अभियान अन्तर्गत गौरादह नगर कमिटी, झापाले आजदेखि कार्यारम्भ गरेको छ ।
नगर कमिटी अध्यक्ष मित्रदेव काफ्लेको अध्यक्षतामा सम्पन्न यो प्रारम्भिक योजना तर्जुमा बैठकमा केन्द्रीय अभियन्ता युवराज बाँस्कोटाले मिसनले समेट्नु पर्ने मूलभूत राजनीतिक–वैचारिक र अन्तर संगठनात्मक विषयवस्तु माथि मसिनो ढंगले प्रकाश पारेका थिए ।
अभियान अन्तर्गत जोडिनुपर्ने विषय वस्तुुका बारेमा प्रदेशबाट खटिएका अभियन्ताहरू श्रीप्रसाद मैनाली, हिरा थापा, राजुु थापा र जिल्ला अध्यक्ष दीपक कार्कीले आ–आफ्ना धारणा राखेका थिए ।
बैठकले पालिकाभरि कामको योजना तर्जुना सम्बन्धी गृहकार्य गर्न पदाधिकारीहरु मित्रदेव काफ्ले, गजेन्द्र घिमिरे, जीवन कार्की, प्रकाश पराजुली, उपेन्द्र निरौला र भीमविजय बाँस्तोलालाई जिम्मेवारी दिएको छ ।
गौरादह लगायतको मतबाट विजयी प्रदेशसभा सदस्य, प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्व र अगुवाइमा प्रदेश नं. १ ले ‘कोशी प्रदेश’ नाम पाएको खुशीमा आज साँझ डिपोचेकमा दीप प्रज्ज्वल पनि गरिएको छ ।