२०८१ माघ २०, आइतवार , १२:५६:१३ बजे

Sajhamanch
'

कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

मङ्गलवार, फागुन १६, २०७९

काठमाडौँ । विशेष अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको हो ।

भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । फैसलामा पूर्वमन्त्री बद्री न्यौपानेसमेतलाई दोषी ठहर गरिएको छ ।

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले दोषी ठहर गरिएका व्यक्तिहरु माथि फागुन २५ गते सजाय तोकिने बताए ।२०७५ माघ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जना विरुद्ध मुद्दा दायर गरेकोमा ५ जनालाई सफाई, ९ जनालाई दोषी ठहर गरेको हो ।

तत्कालीन महिला बालबालिका तथा समाज कल्याणमन्त्री तथा समाज कल्याण परिषद् अध्यक्ष बद्रीप्रसाद न्यौपानेसहित सबैलाई बिगो बमोजिम जरिवाना ३१ करोड ५२ लाख १७ हजार ६७५ बिगो मागदावी थियो भने कैद सजाय मागदावी गरिएको थियो ।

यसैगरी, भृकुटी मण्डप फनपार्कका मेला सञ्चालक टेकबहादुर गुरुङ र रविन्द्र गुरुङ, समाज कल्याण परिषद्‌का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, परिषद्का तत्कालीन कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी, परिषद्का तत्कालीन सदस्य सचिव रवीन्द्रकुमार यादव, परिषद्का तत्कालीन सदस्य मोहनराज शर्मा र मदनकुमार लाल कर्णलाई उक्त विगो दावी गरी मुद्दा चलाइएको थियो ।