झापा । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको बैठकले संस्थागत विद्यालयलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा लैजान झापा प्याब्सनसँग घनिभूत छलफल गरी निस्कर्षमा पुर्याउने निर्णय गरेको छ ।
माघ ७ गते सम्पन्न पाँचौं अधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठकले अघिल्लो कार्यकालमा भएका सहमति कार्यान्वयनमा लैजान प्याब्सन, एनप्याब्सनको जिल्ला नेतृत्वसँग घनिभूत छलफल गरी शिक्षक कर्मचारीको अधिकार स्थापित गर्न सशक्त रूपमा अगाडि बढ्ने निर्णय गरेको हो ।
जिल्ला अध्यक्ष होमराज खतिवडाको अध्यक्षता तथा केन्द्रीय सदस्य दिपक भट्टराइको प्रमुख आतिथ्यमा आज सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोनाकालमा ५ महिनाको तलब भुक्तानी गर्ने सहमति गरेर पनि संस्थागत विद्यालय सञ्चालक पछि हटेको भन्दै प्याब्सन र एनप्याब्सन नेतृत्वसँग उक्त सहमति कार्यान्वयन गर्न स्मरण गराउँने बैठकको निर्णय छ । यदि उक्त सहमति अविलम्ब कार्यान्वयन नगरिए जिल्लाव्यापी आन्दोलन गर्ने ठहर समेत गरेको छ ।
बैठकले झापाका १५ वटै पालिकाको अधिवेशन २०८० असार मसान्तभित्र सक्ने गरी कार्यतालिका निर्माण गरेको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ ।