२०८१ माघ ६, आइतवार , ०२:४४:४९ बजे

Sajhamanch
'

भद्रपुर झापा गोल्डकपः त्रिभुवन आर्मी अन्तिम चारमा

बिहिवार, फागुन ११, २०७९

भद्रपुर । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज बिहीबार मेची रंगशालामा भएको खेलमा पाहुना टोली ड्रुक ल्हायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलमा आर्मीका जितेन्द्र कार्की र सुशान्त चौधरीले एक/एक गोल गरेका छन् । खेलको तेस्रो मिनेटमै आर्मीले पाहुन टोली भुटान विरुद्ध पहिलो गोल गरेको थियो । पेनाल्टी एरिया नजिकै आर्मीले पाएको फ्री–किकको सदुपयोग गर्दै तेस्रो मिनेटमा जितेन्द्र कार्कीले गोल गरेका हुन् । उनले फ्री–किकबाट सिधै जाली चुमाएका थिए ।

यस्तै, खेलको ६४औँ मिनेटमा आर्मीका सुशान्त चौधरीले अर्को गोल थपे । बारमा ठोक्किएर फर्किएको बललाई पेनाल्टी एरियामा रहेका चौधरीले गोल गरेका थिए ।

सुरुवातमै गोल खाएपछि दबाबमा रहेको भुटान पाएका थुप्रै अवसरलाई सदुपयोग गर्न नसक्दा क्वार्टर फाइनलबाटै घर फर्कनुपर्यो । खेलमा भुटानको डिफेन्स लाइन निकै कमजोर देखिन्थ्यो ।

जितसँगै आर्मीले फाइनल प्रवेशका लागि शनिबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । बिहीबारको खेलको प्लेयर अफ दि म्याच आर्मीका जितेन्द्र कार्की घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । शुक्रबारको खेल विभागीय टोली एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशबीच हुनेछ ।