मेचीनगर । झापाको मेचीनगर २ भृकुटीबजार स्थित भानु माध्यमिक विद्यालयको ६६औं वार्षिक उत्सव सम्पन्न गरिएको छ । विद्यालयको वार्षिक उत्सवको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले शिक्षा क्षेत्रको विकास गर्न सकेमात्र देश समृद्धिको मार्गमा जानसक्ने बताए । प्रत्येक नागरिकको पहुँचमा जबसम्म गुणस्तरीय शिक्षा पुग्दैन तबसम्म त्यो देशले समृद्धि प्राप्न गर्न नसक्ने उनको भनाई छ ।
शिक्षको क्षेत्रबाट मात्रै दक्ष र सक्षम नागरिक उत्पादन हुने भएका कारण समयसापेक्ष शिक्षा अहिलेको आवश्यकता रहेको उनले बताए । मेचीनगरमा विद्यालय जनताको मागको विषय बन्ने नगरेको बताउँदै उनले भने, आफू स्थानीय सरकारको प्रमुखको रूपमा विगत ९ महिनादेखि मेचीनगरमा आएको र त्यो अवधिमा जनताहरू विद्यालय सुधार, स्तरोन्नति लगायत शैक्षिक विकासका विषयमा कुरा गर्न थोरै मात्र आउने गरेको बताए ।
उनका अनुसार मेचीनगरमा विद्यालयभन्दा अधिकांश मानिसहरू कालोपत्रे सडक, ड्रेन निर्माण, मन्दिर, सामुदायिक भवनलगायतको माग गर्न आउने गरेका छन् । तर, आफूले विद्यालय सुधारका निम्ति सरोकारवालासंग परामर्श गर्ने कार्य अघि बढाइसकेको बताउँदै नगर प्रमुख बुढाथोकीले भने, नगरका जीर्ण रहेको सामुदायिक विद्यालयको छानो फेर्ने कार्य नगरले नै गर्नेछ तथा प्रविधिमैत्री शिक्षा अगाडि बढाउन आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन संघीय सरकार समक्ष पहलसमेत गरिरहेको छ ।
कार्यक्रममा विभिन्न विधामा विजेता विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै विद्यालयले व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु घनश्याम दाहाल, निलकण्ठ तिवारी, युवराज कट्टेल, ओम चौहान, रिता ढकाललगायतलाई सम्मान गरेको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघनाथ बाँस्तोलाको अध्यक्षतामा आयोजित वार्षिकोत्सब कार्यक्रममा स्वागत प्रधानाध्यापक देवेन्द्र खनाल र सञ्चालन शिक्षक ज्ञानेन्द्र ढुङ्गानाले गरेका थिए ।