२०८१ मंसिर ७, शुक्रवार , ०८:३५:३५ बजे

Sajhamanch
'

महिला जनप्रतिनिधि र ‘शी लिड्स’को नाता प्रगाढ बन्दै

आइतवार, माघ २२, २०७९

‘शी लिड्स’ अर्थात् उनले नेतृत्व गर्न सक्छिन् । यही थीममा आधारित रहेर दलित महिला केन्द्र नेपालले सञ्चालन गरेको शी लिड्स परियोजनाले महिला जनप्रतिनिधिहरुलाई क्षमतावान बनाउन मद्धत गरिरहेको पाइन्छ । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको क्षमता वृद्धि गरी मुख्य नेतृत्व सम्हाल्न सक्ने दक्ष बनाउन प्रयासरत शी लिड्स कार्यक्रम प्रदेश १ अन्तरगत ५ वटा जिल्लाका ३९ वटा पालिकामा सञ्चालन भइरहेको छ ।

सो परियोजनाले सञ्चालन गर्ने कतिपय तालिम, गोष्ठी तथा छलफलमा जानकारी भएसम्म र बोलाएको दिन यो पङ्तिकारले नछुटाई सहभागी हुने गरेको छ । यसैले ‘शी लिड्स’ परियोजना सम्बन्धी केही अनुभूतिसहित ‘शी लिड्स’को कार्यक्रममा सहभागी भएर नेतृत्व विकास गरेका जनप्रतिनिधिको अनुभूतिलाई प्रस्तुत आलेखमा समेट्ने प्रयास गरेको छु ।

दलित महिला केन्द्र नेपाल (सिडीडब्लुएन) गैरसरकारी संस्थाले सञ्चालन गरेको तालिममा २०७४ सालमा निर्वाचित महिला जनप्रतिनिधिहरु मध्ये प्रदेश १ का ४४७ जनाले नेतृत्व विकास सम्बन्धी तालिम पाएको तथ्याङ्क छ । २०७४ सालबाटै सुरु भएको सो परियोजनाबाट महसुस हुने गरीको प्रतिफल प्राप्त भयो या भएन ? विशेषतः हरेक वडाबाट अनिवार्य निर्वाचित हुनुपर्ने महिला सदस्य र दलित महिला सदस्यहरुको सशक्तिकरण भयो वा भएन ? परियोजनालाई निरन्तरता दिने कि नदिने वा रुपान्तरण गरेर सञ्चालन गर्ने भन्ने विषयमा पछिल्लो समयमा अनुसन्धानमुलक अन्तरसम्वाद पनि भइरहेको छ ।

  गोपाल काफ्ले

प्रदेश १ का झापा, मोरङ, सुनसरी, खोटाङ र ओखलढुङ्गामा शी लिड्स परियोजना सञ्चालनमा छ । यस्तै, सिराहा, धनुषा, दोलखा, काभ्रे, सर्लाही, बारा, पर्सा, सल्यान, पाल्पा, स्याङ्जा, कालिकोट, जाजरकोट, सुर्खेत र कैलाली जिल्लामा पनि सिडीडब्लुएनका कार्यक्रमहरु सञ्चालनमा छन् । स्वीस सरकार विकास नियोग र अस्टे«लियन एडको आर्थिक सहयोगमा दलित महिला केन्द्र नेपालले आईएफईएसको साझेदारीमा शी लिड्स परियोजना सञ्चालन गरिरहेको हो ।

शी लिड्स परियोजनाको उद्देश्यका बारेमा दलित महिला केन्द्र नेपालका उपाध्यक्ष लक्ष्मी परियार भन्छिन्, ‘समाज परिवर्तनका लागि राजनीतिलाई औजार बनाइएको छ । तर महिलाहरु सक्षम हुँदा पनि राजनीतिमा अगाडि बढ्ने अवसरबाट प्रायः वञ्चित थियौं र अझै पनि छौं । यही कारण राजनीतिमा महिलाको सशक्त उपस्थितिका लागि शी लिड्स परियोजना सञ्चालन गरेका हौं ।’

राजनीतिक रुपमा अग्रसर भएर काम गर्ने महिलाको क्षमता अभिवृद्धि गर्न सकियो भने उनीहरुले प्राप्त गरेको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाहा गर्न सक्छन् भन्ने अभिष्ट परियोजनाले लिएको छ । बिर्तामोड नगरपालिका वडा नं. ९ बाट निर्वाचित दलित महिला वडा सदस्य तथा कार्यपालिका सदस्य संगीता शिवा शी लिड्सले प्रदान गर्ने तालिममा सहभागी भएका कारण आफ्नो क्षमता बढेको विश्वास गर्छिन् ।

‘उहाँहरु मेरै नेता हो, जिम्मेवारी पनि मेरोभन्दा ठूलो छ । मैले उहाँहरुले भनेको मान्नु पर्छ । म सिकाईकै चरणमा छु भनेर जे भन्यो त्यही मानेर बस्दा हेपिइने रहेछ’ शी लिड्सको आधा दर्जन तालिममा सहभागी शिवाले भनिन्, ‘जात, लिङ्ग, समुदायका आधारमा होच्याएर ठूलाहरुले बोलेको पाइएमा म तत्कालै प्रतिवाद गर्न सक्षम भएकी छु ।’

जनप्रतिनिधि भएर दोस्रो कार्यकालमा जिम्मेवारी वहन गरिरहँदा आफूमा केही रुपान्तरण भएको अनुभूत गरेकी संगीताले कार्यपालिका बैठकमा, वडाको बैठकमा र समितिहरुको बैठकमा आफ्ना कुरा निर्धक्कसँग तथ्यगत रुपमा राख्न सक्ने क्षमताको विकास पनि शी लिड्सको तालिमले नै अभिवृद्धि गरेको बताउँछिन् ।

२०७४ सालमा निर्वाचित महिला जनप्रतिनिधिहरु २०७९ मा उम्मेदवारी नपाएर वा पराजित भएर पुनः जनप्रतिनिधि बन्न पाएनन् । तर यस्ता पूर्व जनप्रतिनिधि महिलाहरुलाई शी लिड्सले पैरवी प्रशिक्षण पनि प्रदान गर्ने गरेको पाइन्छ । समुदायस्तरमा उनीहरुलाई निरन्तर क्रियाशील गराउनको लागि पैरवी गरिएको सी लीड्सका प्रशिक्षक सोमराज ढकालको भनाई छ ।

ढकालका अनुसार २०७९ सालको चुनावमा उम्मेदवार भएर पनि पराजित हुनु परेको वा चुनावमा उम्मेदवार हुनबाटै बञ्चित भएर पूर्वजनप्रतिनिधि बनेका महिलाको आत्मबल बढाएर समुदायस्तर मै क्रियाशील बनाउनको लागि पैरवी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने दलित महिला केन्द्र नेपालको नीति हो ।

शी लीड्स नेपालका अनुगमन संयोजक तेजीलाल लामाका अनुसार पूर्व जनप्रतिनिधिको क्षमता अभिवृद्धि भई पदविहीन भएर पनि समाजमा प्रभावकारी भूमिका निर्वाह गर्नसक्ने भएकाले निरन्तर रुपमा संस्थाले कार्यक्रमबाट सहयोग गर्दै आएको छ । दलित महिला केन्द्र नेपालले प्रदेश १ का ५ वटै जिल्लामा २६ वटा पालिकाका ३६६ जना पूर्व जनप्रतिनिधि महिलालाई यो अवधिमा पैरवी प्रशिक्षण गरिसकेको लामाको भनाई छ ।

दलित महिला केन्द्र नेपालका महासचिव गौरा नेपाली शी लिड्सको तालिम लिएका पहिलो कार्यकालका तीनजना वडा सदस्यहरुलाई दोस्रो कार्यकालमा अपग्रेड गर्न सफल भएको बताउँछिन् । ‘धेरैजनाले पुनः वडा सदस्य नै बन्छु नि भन्दा पनि अवसर दिइएन । सक्षम हुँदा पनि अवसर दिइन्न । हरेक निर्वाचनमा महिला जनप्रतिनिधिहरु फेर्ने गर्दा उहाँहरुको व्यक्तित्व र क्षमतामा विकास गर्न सकिन्न । त्यसैले महिलाको राजनीतिक यात्रा सफल बनाउन अझै संघर्ष गर्न आवश्यक छ’ नेपालीको तर्क छ ।

शी लिड्सका ५ वटा तालिममा सहभागिता जनाएकी अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुली झापाजस्तो शिक्षित र अग्रणी जिल्लामा पनि तालिम महत्वपूर्ण रहेको छ भने दुर्गम भेगका महिलाका लागि त यो वरदान नै सावित हुने बताउँछिन् । यस्तो तालिम महिला आरक्षणको कोटामा निर्वाचितलाई मात्र होइन, पुरुषहरुलाई पनि र सबै तहका जनप्रतिनिधिहरुलाई दिनु सान्दर्भिक हुने उपप्रमुख पराजुलीको सुझाव छ ।

‘म पहिलेदेखि नै सामाजिक राजनीतिक संघ–संगठनमा लागेको महिलालाई पनि शी लिड्सले दिएको तालिमले प्रभावकारी क्षमता विस्तार भएको छ भने बाध्यताले भरखरै घर बाहिर निस्कनु परेका धेरै दिदी बहिनीहरु यस्तो तालिमबाट धेरै लाभान्वित हुनुहुनेछ’ उपप्रमुख पराजुलीको भनाई छ ।

सो नगरपालिकाको वडा नं. २ को महिला वडा सदस्यबाट नगरपालिकाको उपप्रमुखमा निर्वाचित पराजुलीलाई शी लिड्सले ‘आइकन’का रुपमा लिने गरेको पाइन्छ ।

‘पालिकाहरुमा निर्वाचित जनप्रतिनिधिहरुलाई कुनै प्रकारका तालिम पालिकाले प्रदान गरेको छैन, भाषण भुषणमा समय बितिरहेको छ’ बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य संगीता शिवा भन्छिन्, ‘शी लिड्सले दिएको व्यवहारिक तालिमले आफूमा ठूलो आत्मबल बढेको छ । म चाहन्छु, शी लिड्सले नै योभन्दा वृहत् अवधारणसहित एड्भान्स तालिम प्रदान गरोस् । र, आगामी स्थानीय तहको निर्वाचनमा धेरै महिलाहरु वडाध्यक्ष, पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख बन्न सकुन् ।’

शी लिड्सले कार्यक्रममा सहभागी गराएका यी प्रतिनिधि पात्रहरु आफूलाई विगतभन्दा क्षमतावान बन्न तालिमले सहयोग गरेको विश्वास गर्छन् । हुन पनि हरेक व्यक्तिमा अन्तरनिहीत क्षमता अरुले नदेखाएसम्म प्रस्फुटन भइरहेको हुँदैन । व्यक्तित्व विकास सम्बन्धीको तालिम सञ्चालन गर्दा मेरो भनाई हुन्छ, ‘तपाईं स्वयम्मा रहेको क्षमतालाई हामीले टेक्निक दिएर तपाईंबाटै प्रस्फुटन गराउँछौं । आफूमा अन्तरनिहीत क्षमतालाई उजागर गर्न हौसला प्रदान गर्छौं । अनि त तपाईंको व्यक्तित्व विकास भइरहेको हुन्छ ।’

यही सन्दर्भ ‘शी लिड्स’ परियोजनाको गर्भमा लुकेको रहस्य हो । महिलाहरु तपाईं स्वयम् सक्षम हुनुहुन्छ । अवसरका लागि तपाईले नै अग्रसरता लिने हो । अवसर नपाए लड्ने हो । नरोइकन दूधे बालकले पनि आमाको दूध चुस्न पाउँदैन भने तपाईं त आधा आकाश आधा धर्ती ओगट्ने महिला हो । त्यसैले सीप सिक्ने र यसलाई व्यवहारमा ल्याउने पक्षमा तपाई स्वयम् लाग्न आवश्यक छ । शी लिड्ससँगको नातालाई अझ प्रगाढ बनाउनुहोस् । अस्तु ।

सम्बन्धित खबर