कनकाई । झापाको कनकाईमा संगठित भएर सामाजिक क्षेत्रमा क्रियाशिल पूर्व प्रहरीहरुको संस्था नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिले एकजना पत्रकारसहित संगठनका जेष्ठ सदस्यलाई सम्मान गरेको छ ।
सुरुङ्गास्थित कनकाई सामुदायिक वनको सभाहलमा सम्पन्न संगठनको तेस्रो अधिवेशन र साधारण सभामा पत्रकार रामप्रसाद निरौलासहित पूर्व प्रहरी संगठन कनकाईका जेष्ठ सदस्यद्वय ८३ वर्षीय अग्निप्रसाद नेपाल र ७२ वर्षीय दलबहादुर नेपाली सम्मानित भएका हुन् ।
पत्रकारिताको माध्यमबाट समाजको चौतर्फी विकासमा निस्वार्थ ढङ्गले कलम चलाउँदै समाज रुपान्तरणका लागि खेलेको महत्वपूर्ण भूमिकाको मूल्याङ्कन गर्दै कनकाई ७ निवासी पत्रकार निरौलालाई सम्मान गरेको हो । जनसंसद दैनिक, कञ्चनजंघा एफएम, सूर्योदय टेलिभिजन र राष्ट्रिय समाचार समिति (रासस) लगायतका सञ्चार माध्यममा काम गरेका अनुभवी पत्रकार निरौला कनकाई खबर डटकम र कनकाई खबर साप्ताहिक पत्रिकाको सम्पादक प्रकाशक हुन् ।
कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, प्रहरी नायव उपरिक्षक रुगमबहादुर कुवँर, संगठनका नगर अध्यक्ष हरिप्रसाद सेडाई लगायतले सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो ।
साधारण सभाको बन्द सत्रले नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिको अध्यक्षमा पुनः हरिप्रसाद सेडाईलाई सर्वसम्मत रुपमा चयन गरेको छ । तेस्रो अधिवेशनले सेडाईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।
समितिको उपाध्यक्षमा निरवहादुर थापा, सचिवमा अम्बरबहादुर लिम्वू, सहसचिवमा ज्ञानेन्द्रप्रसाद शिवाकोटी, कोषाध्यक्षमा दुर्गाबहादुर पौडेल र सहकोषाध्यक्षमा भगिरथ पाठक सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा पर्शुराम चौधरी, भिमबहादुर दाहाल, लिलावहादुर भण्डारी, रमेश शिवाकोटी र मनकुमारी त्रिखत्री चयन भएका छन् ।
आगामी दिनमा संगठनलाई सामाजिक क्षेत्रमा समेत सक्रिय गराएर अघि बढाउँने उद्देश्यका साथ पूर्व प्रहरी पदमप्रसाद मैनालीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा सूर्यकुमार प्रसाई र सदस्यमा सुरेन्द्र विक र अग्निप्रसाद नेपाल रहेका छन् ।
लामो इतिहास बोकेका राष्ट्रसेवक पूर्व प्रहरीहरु संगठित बनेर कनकाई नगर क्षेत्रको सामाजिक गतिविधिमा समेत सक्रिय रहने योजनाका साथ नगर क्षेत्रका पूर्व प्रहरीहरु संगठन विस्तारमा लागेको नवनिर्वाचित अध्यक्ष हरिप्रसाद सेडाईले बताएका छन् ।
संगठनका तर्फबाट भावी योजनासहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सेडाईले पूर्व प्रहरीहरुको अनुशासित जनशक्तिलाई तीनवटै तहका सरकारले सहकार्य गरेर अघि बढ्न सकेमा मुलुकलाई नै फाइदा हुने बताए ।