झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा निर्वाचन क्षेत्र नं. ३ बाट दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
नेकपा एमालेको सहयोगमा पहिलो पटक २०७४ सालमा निर्वाचित भएका लिङ्देन यसपटक पनि एमालेकै सहयोगमा काँग्रेस उम्मेदवार कृष्ण सिटौलालाई हराउँदै सांसद बनेका हुन् ।
एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट दुवै पटक उम्मेदवार बनेका लिङ्देनले दुवैपटक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका हुन् । २०७४ सालमा १३ हजार ४५५ मतको अन्तरमा सिटौलालाई पराजित गरेका लिङ्देनले २०७९मा ३ हजार २७६ मतान्तरले हराएका छन् ।
सिटौला सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन् । वडागत हेर्दा राप्रपा र एमालेको मत जोड्दा ४२ हजार २४४ थियो भने सत्ता गठबन्धनबाट जसपा बाहिरिँदा गठबन्धनसँग ३२ हजार ६४९ मत देखिएको थियो ।
मतगणनाको अन्तिम मतपरिणाम अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याए भने सिटौलाले ३७ हजार ३७२ मतमात्र प्राप्त गरे । दुई पटक सिटौला झापा ३ को नेतृत्वमा पुगेका र एक कार्यकाल पूरा गरी दोस्रोपटक लिङ्देन पनि सांसद भएका छन् । तर विकास र उन्नतिमा पछाडि परेको सो क्षेत्रको स्तरोन्नतिमा अपेक्षाकृत परिवर्तन हुन नसकेकोमा मतदाता नै चिन्तित छन् ।
सो क्षेत्रमा १ लाख ३१ हजार ४३२ जना मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिएका छन् । झापा ३ बाट प्रदेश सभातर्फ (१) मा नेपाली काँग्रेसका भूमिप्रसाद राजवंशी र (२) मा नेकपा एमालेका छविलाल चुडाल विजयी बनेका छन् ।
यसैगरी झापा क्षेत्र नं. ५ अन्तरगत प्रदेश सभा (१) मा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की विजयी भएका छन् । एमालेका उम्मेदवार कार्कीले २२ हजार ५३० मत प्राप्त गरी विजयी हुँदा निकटतम् प्रतिष्पर्धी सत्तारुढ गठबन्धनका उम्मेदवार जीवनकुमार राईले १७ हजार ५८ मतमात्र पाए । निकटतम् प्रतिपर्धी नेपाली कांग्रेसका राईलाई एमालेका कार्कीले ५ हजार ४७२ मतको अन्तरले पराजित गरेका हुन् ।
यस्तै झापा क्षेत्र नं. ५ अन्तरगत प्रदेश सभा (२) मा नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका होमबहादुर थापाले सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रेवतराज पुरीलाई पनि फराकिलो मतान्तरले पराजित गरेका छन् । थापाले २४ हजार १२९ मत प्राप्त गरी विजयी हुँदा पुरीले १७ हजार ३१५ मतमा चित्त बुझाउनु पर्यो । सो क्षेत्रमा विजयी थापाले उपविजयी पुरीलाई ६ हजार ८१४ मतको अन्तरले पराजित गरेका हुन् ।
झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा एमाले अध्यक्ष ओली ५२ हजार ३१९ मत प्राप्त गरी विजयी भएका छन् ।