२०८० फागुन १०, बिहिवार , ०४:३१:५१ बजे

Sajhamanch
'

कुमार दाइकोे निधनले निम्त्याएको शून्यता

मङ्गलवार, फागुन १, २०८०

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीको गत माघ २२ गते निधन भएपछि झापाको राजनैतिक बृत्तभित्र एक प्रकारको शून्यता छाएको छ । उच्च सम्भ्रान्त परिवारमा जन्मेर पनि संधैं गरीब, दुखी र निमुखा मानिसहरुको पक्षमा आवाज उठाइरहने बुढाथोकी झापाली जनताका बीचमा लोकप्रिय नेताका रुपमा परिचित हुनुहुन्थ्यो । जनताका काममा कहिल्यै जाति र पाटी नहेर्ने उहाँ झापालीका साझा अभिभावक हुनुहुन्थ्यो । जो कोही पनि समस्या लिएर आफूकहाँ आएमा निस्वार्थ भावले सहयोग गर्ने उहाँको बानी थियो । हक्की स्वभावको, हितैसीहरुका बीचमा हासी मजाक पनि गरिहने र मानिसलाई आफूतर्फ आकर्षित गर्ने उहाँमा एक प्रकारको कला थियो ।

          कृष्ण हुमागाँई

राजनैतिक विचार र आस्थामा सँधै एकै ठाउँमा अडिग रहन नसके पनि आफूलाई सही लागेको कुरामा एक्लै पनि उभिनसक्ने उहाँमा बलियो साहस थियो । त्यसैले त २०३६ सालताकाका आफ्ना सहयोगी साथीभाइलाई छोडेर उहाँ पञ्चायतमा केही सिमीत मानिस मात्र लिएर पनि जान तयार हुनुभयो । पञ्चायतमा प्रवेश गरेता पनि उहाँले कहिल्यै प्रजातन्त्र पक्षधरलाई दमन गर्नु भएन । दुःख दिनु भएन । बरु राष्ट्रिय पञ्चायत भित्रै बहुदलको माग गर्न पछि पर्नु भएन । २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा घर चुनाव चिह्नमा केशवकुमार बुढाथोकी र घैला चुनाव चिह्नमा द्रोण आचार्य उम्मेदवार हुनु भएको थियो । झापाली जनताले कांग्रेसी पृष्ठभूमिका बुढाथोकी र बामपन्थी पृष्ठभूमीका आचार्यलाई अत्याधिक मतले रापंसमा बिजयी गराएका थिए । बुढाथोकीलाई तत्कालिन प्रतिबन्धित नेपाली कांग्रेस समर्थकहरुको सहानुभूति थियो भने द्रोण बामपन्थी उम्मेदवार थिए । राष्ट्रिय पञ्चायत सदस्यमा नरेन्द्र खनाल, मोहनलाल अग्रवाल, गोपालचन्द्रसिंह राजवंशी लगायताका उम्मेदवारहरु पनि चुनावी मैदानमा खडा थिए, तर जनताले घर–घैला नै रोजे । अर्थत जनस्तरबाट मतदान मार्फत कांग्रेस बामपन्थी गठबन्धन भएको थियो त्यसबेला ।

नेपाली कांग्रेसका नेतृत्वमा सर्वमान्य नेता गणेशमान सिंहको कमाण्डमा संयुक्त बाममोर्चा सम्मिलित २०४६ सालको संयुक्त जनआन्दोलनका क्रममा पञ्चायतले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका बहुदलवादी माथि क्रुर दमन  गरेको विषयमा बुढाथोकीले सार्वजनिक रुपमै विरोध जनाउनुभयो । २०४६ को चैत १४ गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको निर्देशनमा नेविसंघले मेची क्याम्पसमा पञ्चातयी ब्यवस्था विरुद्ध प्रदर्शन र पुतला जलाउने क्रममा विद्यार्थी राम थापालाई पञ्चायती सत्ताका समर्थक मण्डलेहरुले छुरा प्रहार गरेर हत्या गरे । बुढाथोकीले मन्त्री पदमा रहेकै बेला त्यो आपराधिक घटनाको विरोध गर्नुभयो । सरकारमा बसेर बहुदलवादीको पक्षपोषण गरेको भन्दै तत्कालिन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले जलस्रोत सहायक मन्त्रीबाट केशवकुमार बुढाथोकीलाई चैत १८ गते बर्खास्त गरेका थिए । पञ्चायती सत्ताको मन्त्रीबाट हटेपछि झापा आउनु भएका नेता बुढाथोकीको अगुवाइमा २०४६ साल फागुन २१ गते प्रजातन्त्रवादीहरुले बिर्तामोडमा पञ्चायी ब्यवस्थाको विरोधमा नारा जुलूस लगाएर विशाल प्रर्दशन गरेका थिए । प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै बुढाथोकीले मरिचमानको विरोध गर्नुभएको थियो । आफू जहाँ रहेपनि जनताको मान्छे भएकोले जनताकै पक्षमा बोलिरहने उद्घोष गर्नुभयो । पञ्चायती मन्त्री परिषदबाट हटाइनु भएका बुढाथोकीले के बोल्नुहोला ? बहुदलको पक्षमा लाग्छन् कि लाग्दैनन् ? भनेर धेरै जिज्ञासुहरु उपस्थित थिए, त्यो सभामा ।

तर बुढाथोकीले मरिचमानका कारण राजालाई नै घाटा भइरहेको भन्दै आफू राजाको विरोधमा जान नसक्ने बताउनु भएपछि आन्दोलनकारीहरुको बुढाथोकी अब जन आन्दोलनमा आउँछन् भन्ने अनुमान सही हुन सकेन र जुन उत्साहकासाथ सभामा उपस्थिा थिए मानिसहरु केही दिक्क मान्दै घर फर्किएका थिए । पञ्चायती प्रधानमन्त्री मरिचमान श्रेष्ठले मन्त्री मण्डलबाट अपदस्त गरेर हटाएपछि सर्वाधिक चर्चामा रहेको र प्रजातन्त्रवादी जनताले आफ्नो नेता पाएको अनुभूति गर्दैगर्दा उहाँ २०४६ सालको जन आन्दोलनमा निरन्तर लाग्नु भएन । आन्दोलनको विरोधमा पनि लाग्नु भएन, सक्रिय पनि हुनु भएन । त्यसबेला सक्रिय भएर आन्दोलनकै क्रममा काँग्रेसको झण्डा बोकेर संघर्षको मैदानमा उत्रिनु भएको भए अहिलेसम्म उहाँले राजनीतिमा प्रप्त गर्नु भएको उचाइभन्दा माथिल्लो उचाई अवश्य नै प्राप्त गर्नुहुन्थ्यो । आन्दोलनको नेता हुनुहुन्थ्यो । तर २०५१ सालपछिको नवप्रवेशी काँग्रेसको दर्जा दिलाइदियो नियतीले उहाँलाई । त्यसबेला उहाँलाई पञ्चहरुको पार्टीमा लाग्न गलत सल्लाह दिनेहरुले उहाँको राजनैतिक उचाई घटाइदिए ।

कहिले कांग्रेस त कहिले पञ्च हुँदै राजनीतिको उकाली–ओराली गरिरहेका नेता बुढाथाकी २०४६ सालमा प्रजातन्त्र आएपछि भने कांग्रसको कित्तामा बस्न सक्नु भएन । उहाँ प्रजातन्त्रको नामै सुन्न नचाहने पूर्व पञ्चहरुले खोलेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा सूर्यबहादुर थापासँग जोडिन पुग्नुभयो । उहाँले मानेको नेता गिरिजाबाबु, किसुनजी, गणेशमानहरुलाई पनि चटक्कै छोडिदिनुभयो । २०४८ को आम निर्वाचनमा राप्रपा गाई चुनाव चिन्हमा झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बन्नुभयो । कांग्रेसी पृष्ठभूमिका बुढाथोकीले मत काटिदिंदा नेपाली काँग्रेसका उम्मेदवार समाजवादी चिन्तक सिके प्रसाई भरतबाबु झापाका लागि नयाँ मान्छे एमालेका देवी ओझासँग पराजित हुनु पर्यो । देवी ओझा २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले प्रजातन्त्र कु गरेपछि राजाको समर्थक बने भने कुमार बुढाथोकी राजा ज्ञानेन्द्रको पजातन्त्र बिरोधी शाही कू को विरुद्ध नेपाली कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा सक्रिय हुनुभयो ।

चुनाव सकियो कुमारबाबुको राप्रपा यात्रा पनि सकियो, आफ्नै कारणले चुनाव हारेका भरतबाबुबाटै नेपाली काँग्रेस पार्टीको सदस्यता लिएर २०५१ सालमा उहाँ आफ्नो पुरानो घरमा पुनः फर्कनुभयो । त्यसबेला पनि राप्रपाबाट फर्कदा कतिपय समर्थकहरुलाई राप्रपामै छोडेर काँग्रेसमा आउनुभयो । त्यतिमात्र होइन, माओवादी बिद्रोलाई तह लगाउन संकटकाल लगाउनुपर्छ शेरबहादुर देउवा र संकटकाल लगाउनु हुन्न भन्ने मत राख्नुहुने गिरिजाबाबु बीच संकटकाल लगउने र नलगाउने विषयमा भएको मतभेद बढ्दै जाँदा पार्टीले भनेको नमानेपछि कारवाहीमा परेका देउवाले कांग्रेसबाट विभाजित भएर खोलेको नेपाली कांग्रेस प्रजातान्त्रिकमा फेरि आवद्ध हुनुभयो । यसबेला पनि उहाँले नेपाली काँग्रेसको मूलधारभित्र रहेका आफ्ना धेरै समर्थक, शुभचिन्तकलाई छोडेर प्रजातान्त्रिक कांग्रेसमा जानुभयो । राजनीतिमा उहाँ सधै एकै ठाउँमा रहन सक्नु भएन ।

कुमार दाइको राजनैतिक जीवन

पिता रघुबीर बुढाथोकी र माता नन्दकुमारी भट्टराई बुढाथोकीका साइला सुपुत्रका रुपमा इलामको सिन्फ्रिङमा जन्मनुभएका बुढाथोकीले आठ वर्षको उमेरदेखि भारत दार्जेलिङको चौरस्तास्थित वेधिनी स्कूलबाट शिक्षा प्रारम्भ गर्नुभएको थियो । त्यसपछि दार्जेलिङकै नर्थ पोइन्टस्थित सेन्ट जोसेफ स्कूलबाट सन १९६२ मा केम्ब्रिज उत्तीर्ण गर्नुभएको थियो । सेन्ट जोसेफ स्कुलमा अध्ययन गर्दा तत्कालीन युवराज श्री ५ विरेन्द्र एवं राजकुमारहरु ज्ञानेन्द्र र धिरेन्द्र शाह लगायत बुढाथोकीका बाल्यकालका साथी थिए । बुढाथोकी सन् १९६३ मा त्रिचन्द्र कलेजमा उच्च शिक्षाका लागि भर्ना हुनुभएको थियो । सानैदेखि अरुको दबाब र यातना सहन नसक्ने बुढाथोकीले त्रिचन्द्र कलेजका एक शिक्षकलाई हात छोडेपछि उहाँलाई शान्ति सुरक्षाको कारण देखाएर नौ महिनासम्म जेल राखिएको थियो ।

जेल जीवन ब्यतित गर्ने क्रममा नेपाली कांग्रेसका नेताहरु ओमकुमार श्रेष्ठ, दुर्गानन्द झा, अरविन्द, श्रीभद्र शर्मा, प्रयागराज सिंह सुवाल, पेशलकुमार पोखरेल, भाउकाजी श्रेष्ठ लगायतसँग भेट भएपछि उनीहरुकै संगतबाट बुढाथोकी नेपाली कांग्रेसको राजनीतिप्रति आकर्षित एवं सक्रिय हुनुभयो । विद्यार्थी आन्दोलनका क्रममा प्राध्यापक माथि हात छोडेको निहुँमा जेल पर्नुभएका बुढाथोकी जेलबाट छुट्दासमेत रेस्टिकेड फिर्ता नभएपछि उहाँको अध्ययन बीचैमा रोकियो र उहाँ झापा फर्कनुभयो ।

त्यसबेलासम्म उहाँको परिवार इलाम छोडेर झापा बसाई आइसकेको थियो । २०२५ सालमा विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा प्रवेश गर्नुभएका उहाँ २०२७ सालमा नेपाल तरुण दलको सदस्य हुनुभएको थियो । २०२७ सालमै कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई घरैमा स्वागत गर्नुभएका नेता बुढाथोकी २०२८ सालमा बनारसमा भएको नेपाल तरुण दलको अधिवेशनमा सहभागी हुनुभयो । बनारसबाट फर्किएपछि शान्ति सुरक्षाको कारण देखाउँदै २०२८ सालमा तत्कालीन पञ्च सरकारले बुढाथोकीलाई जेल हाल्यो । नौ महिनासम्म जेल जीवन बिताएर बाहिर निस्कनु भएका नेता बुढाथोकीले २०२९ सालमा दार्जेलिङमा नेपाली कांग्रेसका तत्कालीन सभापति वीपी कोइरालासँग भेट गर्नुभएको थियो ।

कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएका बुढाथोकी २०३२ सालमा शनिश्चरे गाउँ पञ्चायतको प्रधानपञ्च नियुक्त हुनुभएको थियो । उहाँले २०३७ सालमा बहुदलको पक्षमा लाग्न प्रधानपञ्चबाट राजीनामा दिई बहुदलको पक्षमा जिल्लाब्यापी अभियानमा सक्रिय हुनुभएको थियो । शनिश्चरे गाउँ पञ्चायतको प्रधानपञ्च हुनुभएका उहाँ केही समयपछि जिल्ला पञ्चायतको सभापति नियुक्त हुनुभयो । २०३९ सालमा ७५ वटै जिल्लाका सभापतिमध्ये झापा सभापति रहनुभएका बुढाथोकीले तत्कालीन कांग्रेस सभापति वीपी कोइरालाको निधनमा शोक प्रस्ताव पारित गराउनु भएको थियो ।

२०४२ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनुभएका उहाँले राष्ट्रिय पञ्चायत सदस्य भएपछि सुकुम्बासी आयोगको अध्यक्षको जिम्मेवारी प्राप्त गर्नुभयो । २०४४ सालमा जलस्रोत सहायक मन्त्री बन्नुभएका उहाँ २०४६ सालको जनआन्दोलनको समर्थन गरेका कारण मरिचमान श्रेष्ठको मन्त्री परिषदबाट निस्कासित हुनुभयो । २०४६–०४७ को बृहत् जनआन्दोलन पश्चात २०४८ सालको निर्वाचनमा झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्नुभएका उहाँ पराजित हुनुभयो । २०५० सालमा नेपाली कांग्रेसमा पुनः प्रवेश गरी केन्द्रीय सदस्य सिके प्रसाईबाट सदस्यता प्राप्त गर्नुभएका उहाँ २०५१ सालमा पार्टीका तर्फबाट झापा क्षेत्र नं. ६ मा प्रतिनिधिसभा सदस्यको उम्मेद्वार भए पनि पराजित हुनुभयो ।

२०५९ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकको झापा जिल्ला सभापति हुनुभएका उहाँ केही समयपछि केन्द्रीय सदस्यमा मनोनित हुनुभएको थियो । २०६४ सालमा नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नं.४ देखि संविधानसभा सदस्यको उम्मेद्वार हुनुभएका उहाँ मेची अञ्चलबाटै एकमात्र निर्वाचित कांग्रेस सांसद हुनुभएको थियो । भने २०७० सालमा पनि सोही क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । दोस्रो कार्यकालमा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीसमेत संहाल्नुभएका उहाँ पार्टीको १३औं र १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभयो ।

पार्टीका अग्रज, अनुभवी, जुझारु नेताको निधनले पार्टी एवं राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको नेपाली कांग्रेस झापाले ठहर गरेको छ । जन्मपछि मृत्यु शास्वत सत्य भए पनि आफन्त एवं अग्रज नेतृत्वको वियोगले पीडामा रहनुभएका परिवारजनहरु श्रीमती गीता बुढाथोकी, छोराहरु आनन्द, शिशिर, छोरीहरु ममता बुढाथोकी खत्री, कविता बुढाथोकी गिरी, दाजु–भाइहरु नरेन्द्र, मकरध्वज, प्रकाश, अरुण, सुदर्शन उत्तम एवं शोकाकुल सम्पूर्ण परिवारजन तथा पार्टीका नेता कार्यकर्तामा धैर्यधारण गर्ने ईश्वरीय शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना ब्यक्त गर्दछु । साथै ब्रह्मलीन आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

सम्बन्धित खबर