२०८० फागुन ९, बुधवार , ०६:४१:१२ बजे

Sajhamanch
'

राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा मल्ल र वरिष्ठ उपाध्यक्षमा पोखरेलसहित नयाँ नेतृत्व सर्वसम्मत

शनिवार, पौष २८, २०८०

काठमाडौं । नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ ।

शुक्रबारदेखि सुरु महासंघको ३१औं वार्षिक साधारण सभाले ओमदेवी मल्ललाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो । उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिइन् । २०५० सालमा स्थापना भएको राष्ट्रिय सहकारी महासंघमा पहिलो पटक महिलाले अध्यक्ष पदमा निर्वाचित हुने अवसर पाएकी हुन् ।

मल्ल एक कार्यकाल अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्ड सदस्यसमेत भैसकेकी थिइन् । संविधानसभा सदस्यसमेत रहेकी मल्ल अध्यक्षमा निर्वाचित भएपछि सहकारी अभियानको सुदृढीकरणका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

२५ सदस्यीय संचालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल चयन भएका छन् । पोखरेल यसअघि उपाध्यक्ष थिए । उनी राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्षसमेत हुन् ।

महासंघका नवनिर्वाचित उपाध्यक्षहरुमा खेमबहादुर पाठक, डि.बि. बस्नेत र इन्दिरा पन्त रहेका छिन् । पछिल्लो संशोधिन विनियम अनुसार पहिलो पटक तीनजना उपाध्यक्ष कायम भएको हो ।

महासंघको संचालकहरुमा निर्वाचित हुनेमा कोशी प्रदेशबाट छत्रप्रसाद रिमाल, मधेश प्रदेशबाट शम्भु प्रसाद, बागमती प्रदेशबाट पार्वती न्यौपाने, गण्डकी प्रदेशबाट परितोष पौड्याल, लुम्बिनी प्रदेशबाट टिका न्यौपाने, कर्णाली प्रदेशबाट काशीचन्द्र बराल र सुदुरपश्चिम प्रदेशबाट माधवप्रसाद जोशी सर्वसम्मत निर्वाचित भएका हुन् ।

यसैगरी, टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी, बद्रीप्रसाद लम्साल, हरिहरनाथ योगी, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी र सुवेदी पौडेल सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् ।

महासंघको लेखा सुपरिवेक्षण समिति संयोजकमा भिम तुलाचन निर्वाचित भएका छन् भने सदस्यहरुमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भए ।

गैर राजनीतिक फोरममा राजनीतिक चलखेल !

महासंघको निर्वाचनका लागि तीन मुख्य राजनीतिक दलका सहकारीकर्मीहरु बीच धेरै पटक सम्वाद भएको थियो । सबैलाई मिलाएर लैजाने योजना अनुसार नै सहमतिको प्रयास भए पनि वर्तमान सत्ता गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सहकारी विभागका तर्फबाट पत्रकार सम्मेलन गरेर महासंघको निर्वाचनमा सहभागी नहुने सार्वजनिक गरिएको थियो ।

एमाले समर्थक सहकारीकर्मीहरुले आफूहरुले मागेजति सिट नदिएको भन्दै पत्रकार सम्मेलन गरेका कांग्रेस र माओवादी समर्थक सहकारीकर्मीहरुले उमेदवारी नदिएको दावी गरेका थिए ।

शुक्रबार ४ बजेसम्मका लागि तोएिको उमेदवारी दर्ताको समय सकिने समयसम्म पनि वार्ता र सम्वादमा रहेका कांग्रेस र माओवादी समर्थक सहकारीहरुका लागि डेढ घण्टा समय थप गर्दा पनि उमेदवारी दर्ता नगराएको एमाले समर्थक सहकारीकर्मीहरुले जनाएका छन् ।

कांग्रेस र माओवादीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका सहकारी विभाग प्रमुख देवेन्द्रराज कंडेल र माओवादीका सहकारी विभाग प्रमुख लिलामणि पोखरेलले एमालेले आफूहरुले मागेजति सिट नदिएका कारण उमेदवारी दर्ता नगराएको बताएर मैदान छाडेका थिए ।

एमालेका सहकारी विभाग प्रमुख खगराज अधिकारी, कांग्रेसका सहकारी विभाग प्रमुख कंडेल र माओवादी केन्द्रका सहकारी विभागका प्रमुख पोखरेलसहित सहकारीका नेताहरुबीच लामो छलफल भएको थियो ।

सो छलफलका क्रममा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, १० जना सञ्चालक र एक जना लेखा सुपरीवेक्षण समितिको सदस्य एमाले समर्थकहरुलाई दिने तय गरिएको थियो ।

यस्तै, उपाध्यक्ष एकजना, सञ्चालक ५ जना र लेखा सुपरीवेक्षण समितिको संयोजक नेपाली कांग्रेस समर्थकलाई दिने र एकजना उपाध्यक्ष, ४ जना सञ्चालक र लेखा सुपरीवेक्षण समितिको सदस्य एकजना माओवादी समर्थकहरुले लिने गरी सहमति नजिक पुगेको थियो ।

तर सोही समयमा गठबन्धन दललाई बहुमत चाहियो भन्दै उनीहरु बाहिर निस्किए पछि एमालेबाट पूर्व तयारीमा बसेका सहकारीकर्मीहरुले आवश्यक पदमा उम्मेदवारी दिएको एमाले सहकारी विभागका एक सदस्यले बताए ।

सम्बन्धित खबर