२०८० फागुन ९, बुधवार , ०९:५०:४४ बजे

Sajhamanch
'

सगरमाथा यातायातको नयाँ नेतृत्व सर्वसम्मत, अध्यक्षमा नवीन कोइराला

शनिवार, पौष २८, २०८०

मेचीनगर । सगरमाथा यातायात प्रालिको अध्यक्षमा नवीन कोइराला चयन भएका छन् । यसअघि सञ्चालक समिति सदस्य रहेका कोइराला मेची पेट्रोलियम डिलर्स एसोसिएसनको पनि अध्यक्ष हुन् ।

आज सम्पन्न सगरमाथा यातायातको साधारण सभाबाट तीन वर्षे कार्यकालका लागि कोइरालासहित सबै पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका हुन् ।

नव निर्वाचित समितिको सदस्यहरुमा प्रविन थापा, कमल थापा क्षेत्री, दिपक पाण्डे, श्याम थापा, बद्रीप्रसाद उप्रेती, विनोद सुवेदी, हरिप्रसाद मैनाली र टिकाराज दहाल सर्वसम्मत भएको निर्वाचन समिति संयोजक प्रेमप्रसाद विमलीले जानकारी दिएका हुन् ।

निर्वाचित भएसँगै कोइरालाले पूर्वमा थप सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।

सगरमाथा यातायात प्रालिद्वारा सञ्चालित बसहरुले झापाको काँकरभिट्टादेखि विराटनगर तथा धरानसम्म सेवा प्रवाह गर्दै आएका छन् ।

आगामी दिनमा विराटनगर र धरानसँगै अन्य लामो रुटमा समेत सेवा सञ्चालन गरिने नवनिर्वाचित अध्यक्ष कोइरालाले जनाएका छन् । साथै उनले विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई विशेष छुटसहित सेवा सुविधा उपलब्ध गराउने बताए ।

सरकारको ९५ प्रतिशत भन्सार छुटमा ल्याइएका सगरमाथा प्रालिद्वारा सञ्चालित ३० वटा बसहरु सञ्चालनमा रहेको जनाइएको छ ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य, संस्थाका निवर्तमान अध्यक्ष मेदनीप्रसाद खरेल, संस्थापक अध्यक्ष खगेन्द्र उप्रेती, प्रबन्ध निर्देशक प्रविन थापा लगायतले नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गरेका थिए ।

सम्बन्धित खबर