२०८० फागुन १८, शुक्रवार , १२:४०:१५ बजे

Sajhamanch
'

झापा लिग : समूह क को लिग चरण सकियो, बुद्धशान्ति समूह विजेता

मङ्गलवार, मंसिर १२, २०८०

भद्रपुर । झापाको भद्रपुरमा जारी ओमसाई पाथीभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा मेचीनगर नगरपालिका विजयी भएको छ ।

आज भएको पहिलो खेलमा मेचीनगरले बाह्रदशी गाउँपालिकालाई हराएको हो । मेचीनगरले बाह्रदशीलाई ३–० गोल अन्तरले हराएको हो ।

जितसँगै मेचीनगरको ६ अंक भएको छ । समान दुई खेल खेलेको बाह्रदशीको १ अंकमात्र छ ।

भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलको २८औँ मिनेटमा मेचीनगरका अरुण मेचेले गोल गरे । त्यस्तै, खेलको ५८औँ र ६५औँ मिनेटमा निरज कार्कीले गोल गरेर जित निश्चित बनाए ।

खेलको प्लेयर अफ दि म्याच मेचीनगरका निरज कार्की भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, समाजसेवी पवन श्रेष्ठले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

आजको दोस्रो खेल बिर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिका गोलरहित बराबरीमा टुंगियो । दुवै टिमबाट गोल हुन नसकेपछि अंक बाँड्न बाध्य भए ।

खेलको प्लेयर अफ दि म्याच बुद्धशान्तिका पवन नेपाली दर्जी भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, समाजसेवी श्याम प्रसाईंले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

यसैबीच, आजको खेलसँगै समूह क को लिग चरण सकिएको छ । यो समूहबाट हल्दिबारी बाहिरिएको छ । बुद्धशान्ति ४ अंकका साथ समूह विजेता बनेको छ भने बिर्तामोड २ अंक जोड्दै उपविजेतामा सीमित रह्यो ।

सम्बन्धित खबर