२ वर्षे छोराको फोक्सोमा पानी जमेर उपचारमा, बाबुले गरे आर्थिक सहयोगको अपील

September 22, 2022 8:25 pm

झापा । आर्थिक अभावका कारण दुई वर्षीय बालकको उपचारमा समस्या देखिए पछि झापाको कनकाई नगरपालिका वडा नं. ८ निवासी मञ्जुल मुर्मूले उपचारका लागि आर्थिक सहयोगको अपील गरेका छन् ।

आफ्नो दुई वर्षीय छोरा विशाल मुर्मूको फोक्सोमा पानी जमेको र उपचारका लागि रकम अभाव भएपछि मुर्मूले सहयोगको अपील गरेका हुन् । १५ दिन अघि मुर्मू छोराको उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पुगेका थिए । तर, त्यहाँ विशालको उपचार सम्भव नभएपछि अस्पतालले थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको थियो ।

‘मेची अस्पतालले छोरालाई धरान रेफर गरेसँगै उपचारका लागि विशाललाई धरान लगिएको छ तर, औषधि किन्नसमेत पैसा नभएपछि चन्दा संकलन गर्नु परेको छ’ मञ्जुलले भनेका छन्, ‘छोराको उपचारका लागि अस्पतालले कम्तीमा पाँच लाख रुपैयाँ खर्च लाग्छ भनेको छ, त्यत्रो पैसा आफूसँग नभएकाले सहयोगको हात फैलाएको हुँ ।’

बिरामी छोरालाई श्रीमती गीतासँग धरानमा छाडेर पैसाको जोहो गर्न घर आएका मुर्मूले अहिले दिनहुँ कनकाई नगरपालिका आसपासमा चन्दा संकलन गरिरहेका छन् । संकलित चन्दाले जसोतसो दैनिक प्रयोग गरिने औषधि किन्न पुगेपछि शल्यक्रियाका लागि खर्च अभाव भएकोले जीवन बचाई दिन उनले सबैसँग आग्रह गरेका हुन् ।

दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्दै आएका मुर्मूको आग्रहसँगै स्थानीय युवा अनिल पौडेलले रकम संकलनका लागि अग्रसरता देखाएका छन् । पौडेलले अहिले कनकाई नगरपालिका ८ को वडा कार्यालयसहित स्थानीय दाता, व्यवसायी तथा समाजसेवीहरुसँग चन्दा संकलनका लागि सहयोग पुर्याउँदै आएका छन् ।

          September 22, 2022 8:25 pm | समाज,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: