एनएमसी डेरीमार्फत दूधमा गरिएको स्वच्छताको प्रयास


शुरुमा मलाई पनि लाग्थ्यो दूधमा पानी नमिसाए पछि दूध शुद्ध हुन्छ । तर त्यस्तो हुँदो रहेनछ । दूधको स्वच्छतामा पनि त्यत्तिकै ध्यान दिन आवश्यक रहेछ । दूध स्वच्छ भएन भने अलिकति पनि खराब दूधले सबै दूधलाई चाँडै बिगार्ने रहेछ ।

सङ्कलन भएको दूधमा समस्या देखिन थालेपछि समस्या पहिचान गर्न शुरु गर्यौं । प्रत्येक किसानले ल्याएको दूधमा पानी भए नभएको हेरेजस्तै स्वच्छताको अवस्था कस्तो छ भनेर जाँच्ने काम शुरु भयो । डेरीमै काम गर्ने स्टाफ आलोकजीको घरबाट आएको दूुधमा समस्या देखियो । उनलाई सतर्क गरायौं । उनले पनि सरफाईमा खुबै ध्यान दिए । दूधको गुणस्तरमा सुधार भएन । एक दिन एकजना स्टाफ पठाएर सरसफाईको शुक्ष्म अध्ययन गर्ने काम भयो । गोठ, गाई, दूध दुहुने बाल्टी, फाँचो धुने पानी, दूध दुहुने किसानको हात सबै ठिकठाक देखिएको थियो । आलोकले सधैं यो काममा ध्यान दिएकै थिए ।

फेरि पनि गुणस्तरमा सुधार नभएकाले उनले आफैं एकजना मानिस पठाएर हेरिदिन अनुरोध गरेका थिए । अन्त्यमा कैफियत फेला पर्यो । दूध दुहुने बेलामा गाईको थुन नरम बनाउन प्रयोग गरिने घिउमा समस्या देखियो । यो सानो प्लेटमा थियो र धेरै पुरानो भएको पाइएछ । यो चिल्लो थुनमा प्रयोग गर्दा र दूध दुहुँदा चिल्लोका थोपाहरु दुधमा मिसिएर आउँदा रहेछन् । यस्तो चिल्लोमा भएका फोहोर, ब्याक्टेरिया दूधमा मिसिने र केही घण्टामै बाल्टीमा भएको दूधलाई खराब गर्ने गरेको पत्ता लाग्यो । यो फोहोर चिल्लो बदल्ने बित्तिकै समस्या समाधान भएको थियो ।

रामचन्द्र उप्रेती

त्यस्तै एकपटक टेङ्करमा आएको दूधमा समस्या भएको पाइयो । हरेक चिस्यान केन्द्रलाई सचेत गराइयो । दूध सङ्कलनमा जाने स्टाफहरुलाई सचेत गराइयो । तर पनि दूधमा सुधार भएन । त्यसपछि हरेक चिस्यान केन्द्रको दूध अलग अलग गरेर हेरियो । एउटा चिस्यान केन्द्रको दूधमा समस्या देखियो । उक्त चिस्यान केन्द्रलाई सरसफाई नपुगेर दूुधको गुणस्तर कमजोर भएको जानकारी गरायौं । उनीहरुले सफाईमा अझै राम्रो गरेको बताए तर दूधको गुणस्तरमा सुधार भएन । अब त राम्रो गर्ने ठाउँ नै सकियो । तपाइँहरु नै आएर हेरिदिनुस् । हाम्रोमा कुनै खराबी छैन भन्ने सन्देश आयो । तर दूध त्यहीँको खराब थियो ।

डेरीका तत्कालिन प्रबन्धक श्याम मिश्र र म उक्त चिस्यान केन्द्रमा गयौं । सरसफाइको मसिनोगरी अध्यायन गर्यौं । दूध लिएर आउने किसानका दूध ल्याउने भाँडा हेर्यौं । सबैमा पहिलेकोभन्दा धेरै नै सुधार भएको थियो । चिस्यान केन्द्रको सरसफाई पनि राम्रै थियो । हामी अभैm मेहनत गरेर सरसफाइको कमजोरी पत्ता लगाउन ध्यान दिएर लाग्यौं । किनकि दूधको गुणस्तर यहाँबाटै बिग्रिएको कुरामा हामी ढुक्क थियौं ।

दूधको स्रोतदेखि दूध टेङ्करमा जानेसम्मको प्रकृयामा जाँचगर्दा चिस्यानको टेङ्कीबाट टेङ्करमा दूध लाने पाइपमा समस्या भेटियो । त्यो पाइप त यति फोहर भेटियो कि त्यो धुनुपर्छ, सफा गर्नुपर्छ भन्ने नै थाहा रहेन रहेछ । त्यो पाइप सफा गर्ने गरिएको रहेनछ । पाइपलाई हातले निचोरेर भित्रको फोहर निकाल्यौं । लतत झर्न थाल्यो । त्यो देखेर सबै अचम्मित भयौं । पाइप सफा गरेर हुनेवाला देखिएन र पाइप फेर्न लगायौं । फाइप फेरेपछि समस्याको समाधान भयो ।

शुरुशुरुमा धेरै किसानले दूध ओसार्न जर्किन, प्लास्टिकका घेरावाला भाँडा, चियादानी प्रयोग गर्ने गरेका थिए । त्यसलाई बदलेर सिल्भर र स्टिलका भाँडा प्रयोग गर्न सुझाव दियौं । दूध ओसारपसार गर्न प्रयोग भएका भाँडा दूध खन्याएर खाली गर्नासाथ सफा गर्न र घाममा घोप्टो पारेर सुकाउन सिकायौं । यसोगर्दा भाँडामा भएका ब्याक्टेरिया जिवित रहन पाउँदैनन् । यसले धेरै नै सुधार भयो । किसानले दूध ल्याउने समयमा चिस्यान केन्द्रमा पुगेर भाँडा हेर्ने गर्यौं ।

यो सबै गर्दा पनि केही किसानले आफ्नो बानी परिवर्तन गरेनन्, भाँडा परिवर्तन गरेनन् । प्लास्टिकका घेरावाला भाँडा राम्ररी सफा नगर्ने, घाममा घोप्ट्याएर नराख्ने, बेच्ने दूध त हो नि ! भनेर लापरवाही गर्ने । यत्तिकैले सधैं चलेको थियो आज किन भएन भनेर झर्किने, एनएमसीलाई दूध धेरै भएको भनेर गुनासो गर्नेहरु पनि केही बाँकी रहे । हामीले यस्ता मानिससँग निर्ममता नै अपनायौंभन्दा हुन्छ । हामीले दूध फिर्ता गर्नेदेखि भाँडो जफल गर्नेसम्मका काम गर्यौं । केही किसान नराम्ररी रिसाए । सह्यौं ।

एकपटक दूधको निकै नै अभावको अवस्था थियो । अलि ठूलै गाईगोठबाट आउने दूध सफा थिएन । पटक पटक सम्झायौं । उहाँहरु हुन्छ पनि भन्ने तर बानीमा सुधार नगर्ने भइरह्यो । यसैबीचमा उहाँहरुको दूधको मूल्य पनि कम देखियो । दूधमा फ्याट घट्न थाल्यो । फ्याट घटेपछि मूल्य घट्ने नै भयो । उहाँहरुले सामुहिक रुपमै दूधको मूल्य कम नगर्न अनुरोध गर्नुभयो । उहाँहरुको माग थियो दूधको भाउ फ्याट र एसएनएफको आधारमा होइन, लिटरका आधारमा नै दिइनुपर्छ । यो अलि अभाव र अप्ठ्यारो अवस्थामा भनेको कुरा हो । हामीले उहाँहरुको कुरा मान्नु भनेको डेरीको चलनमा प्रतिगमनमा फर्कनुजस्तै थियो । त्यसैले मान्न अस्वीकार गर्यौं । उहाँहरु दूध ल्याउन छाड्नु भयो ।

अर्को एक चिस्यान केन्द्रबाट दूध ल्याउने त गथ्र्यौं तर त्यो केन्द्र निकै फोहोर थियो । सुधार्न पटक पटक सचेत गरायौं । श्याम सर र म नै यस्ता चिस्यान केन्द्रमा धेरै पुग्ने गथ्र्यौं । कति पटक त श्याम सरले यसरी सफा गर्ने भनेर सफा पनि गरिदिनु भएको थियो । मैले पनि फोहर कहाँकहाँ कसरी जम्छ र त्यसले कसरी दूध खराब गर्छ भनेर बुझाउने गर्थें । धेरैमा सुधार हुन्थ्यो । दक्षिणतिरको एउटा चिस्यान केन्द्रमा सुधार भएको थिएन । एकहप्ता अगाडि गएर सबै कुरामा सम्झाएर अब पनि तपाइँको चिस्यान केन्द्र यस्तै फोहर नै हुने हो भने दूध लाँदैनौं भनेका थियौं । सधै जान सकिँदैन थियो । दूध लिन जाने चालकलाई अवस्थामा सुधार भए नभएको सोध्ने गथ्र्यौं । खासै सुधार छैन, जति भने पनि मान्दैनन् भन्ने कुरा सुनाए ।

अर्को हप्तामा नै फेरि डेरीका संयोजक नारायण कोइराला, प्रशासन प्रमुख नवराज अधिकारी र म गयौं । त्यहाँको चिस्यान केन्द्रको अवस्थामा सुधार थिएन । प्रोप्राइटरलाई अलि कडा कुरा गर्यौं । तपाई आफैं फोहोरी हुनुहुन्छ, तपाइँलाई चाहिने जतिमात्रै सफा गर्नु भएको छ । यतिले डेरीलाई पुग्दैन अब तपाई सुध्रिन सक्नुहुन्न । सरसफाइमा सुधार भएन, त्यसैले भोलिदेखि दूध लिन आउँदैनौं, दूध अन्तै बेच्नु भन्यौं । अर्को दिन दूध लिन गाडी नगएपछि भोलिपल्टै उनी डेरी उद्योगमा हामीलाई भेट्न आए ।

संयोगले नारायण कोइराला र मसँगै थियौं । हिजो भेटेको त्यो फोहोरी मानिस आज त चिटिक्क सफा भएर आएका थिए । चिन्नै नसकिने गरिको भएर । बस्यौं र गफ गर्यौं । उनलाई सम्झायौं । एक दिन अरुलाई देखाउन सफा भएर दूधको कारोबार गर्न सकिँदैन । तपाइँलाई योभन्दा पहिला पनि पटक पटक भन्यौं र सात दिन पहिले नै अन्तिमपटक सचेत गराएका थियौं । हिजो जाँदा तपाइँको चिस्यान केन्द्रको जुन अवस्था थियो त्यो सुधार होला भन्ने विश्वास छैन । त्यसैले तपाई अरुलाई नै दूुध बेच्नु होला भनेर पठायौं ।

मानिस आफ्नो स्तर अनुसारको सफाई गर्छन् । मानिस आफ्नो सोच अनुसारको कर्म गर्छन् । जसले छलछाम गर्छन्, सानोतिनो फाइदाका लागि झुठ बोल्छन्, सानो सानो फाइदामा लोभिन्छन् र आफ्नो मूल्य बिर्सन्छन्, मूल्य छाड्छन् त्यस्ता मानिसहरुले दिगो फाइदा हुने र ठूलो काम गर्न सक्दैनन् । यस्ता मानिस अलि लापरवाही गर्ने, भएकै छ, चलेकै छ, किन यो फाइदा छाड्ने, यति भए पनि त आयो नि, अरुले के थाहा पाउँछन् र ! भन्दै गर्छन्, यति त गरेकै छ नि, कहाँ सबै भनेजस्तो गर्न सकिन्छ भन्ने स्वभावका हुन्छन् । यस्ता मानिसको भनाई र गराई फरक हुन्छ । भरोसा गर्न नसकिने खालका हुन्छन् । यिनी पनि यसमध्ये कै हुन् भन्ने लागेर दूध नलिने निर्णय गर्यौं ।

डेरी उद्योगले स्रोतमा नै दूध राम्रो सफा ल्याउन नसक्दा डेरी उद्योगले बनाउने दुग्ध परिकार राम्रा हुँदैनन् । हाम्रो चाहना गुणस्तरीय समान बजारमा पठाउने थियो र छ । त्यसैले दूधको शुद्धता र स्वच्छतामा अलि धेरै मेहनत गर्यौं । यसो गर्दा शुरुशुरुमा हामीलाई चलन बदल्न, मानिसको बानी परिवर्तन गर्न, उत्पादक, कारोबारी, उपभोक्ता र बिक्रेतालाई बुझाउन निकै कठिक भयो । हार खाएनौं । नतिजा क्रमशः राम्रो देखिँदै गयो । धेरै पुराना डेरी उद्योगलाई पछि पार्र्र्दै एनएमसी डेरी उद्योग निरन्तर अगाडि बढ्नुको प्रमुख कारण हामीले नियमअनुसार काम गर्नु, उत्पादक र उपभोक्ताको हितमा काम गर्नु नै हो ।

बजारमा उद्योगबाट आउने प्रशोधित दूधका बारेमा अनेक नकारात्मक प्रचारहरु हुने गर्थे र आज पनि हुन्छ । यसको एउटा कारण कतिपय उद्योगले गर्नुपर्ने जस्तो नगरिदिएका कारणले हो भने अर्को कारण दूधको कारोबार गर्ने साना व्यवसायीले चलाएको अनेक भ्रम पनि हुन् । उनीहरुको व्यवसाय चलाउन डेरीले पाउडर मिसाउँछ भन्ने, घिउ निकालेर दिन्छ भन्ने गर्थे, गर्छन् । यस्ता भ्रमलाई हामीले निरन्तर चिर्न प्रयास गरिरह्यौं । हाम्रा उत्पादनहरु गुणस्तरमा अब्बल बने । उपभोक्ताको रोजाईमा परे ।

आज डेरी उद्योगको अवस्था एकदमै राम्रो छ । एनएमसीलाई दूध दिने हो भने उसले निर्धारण गरेको नियम मान्नैपर्छ भन्ने सबैलाई लागेको छ । त्यसको पालना भएको छ । बिक्रेताले पनि अरुकोभन्दा थोरै कमिशनमा बेच्न स्वीकार गरेका छन् । यो सबैको एउटै कारण हो, हामीले किसानको गोठदेखि उपभोक्ताको ओठसम्म नै दूधको शुद्धता र स्वच्छतामा विशेष ध्यान दिएका छौं ।

          December 13, 2021 8:06 pm | विचार/ब्लग,समाज,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: