हल्दीबारी गाउँपालिकाः बेमौषमी वर्षातबाट धनबालीमा क्षति बेहोरेका कृषकलाई मालपोत करमा छुट दिने निर्णय

November 22, 2021 3:00 pm

हल्दिबारी । कात्तिकको पहिलो साता भएको बेमौषमी अविरल वर्षाको कारणले धानबाली लडेर क्षति ब्यहोरेका कृषकलाई हल्दिबारी गाउँपालिकाले राहत दिने निर्णय गरेको छ ।

मंसिर ५ गते बसेको हल्दीबारी गाउँपालिकाको नियमित मासिक बैठकले पीडित कृषकहरुलाई राहत दिने निर्णय हो ।

सो गाउँपालिकामा बेमौसमी बर्षाको कारणले ९३७ विगाहा क्षेत्रफलमा पूर्ण रुपमा क्षति पुगेको पाइएको थियो । यस्तै, आँशिक रुपमा ७३० बिगाहा र सामान्य रुपमा १७७ बिगाहामा लगाइएको धानबालीमा क्षति भएको तथ्यांक प्राप्त भएको थियो ।

गाउँ कार्यपालिकाको बैठकले पूर्णरुपमा धानबाली नष्ट भएका कृषकहरुलाई चालू आर्थिक वर्षमा तिर्नुपर्ने मालपोत करमा १०० प्रतिशत छुट दिने निर्णय भएको गाउँ कार्यपालिका सदस्य तथा प्रवक्ता सागर पोर्तेलले जनाएका हुन् । यस्तै आँशिक रुपमा धानबाली क्षति भएका कृषकहरूलाई ७५ प्रतिशत छुट दिने र सामान्य क्षति भएका कृषकहरुलाई ५० प्रतिशत छुट दिने निर्णय बैठकले गरेको पोर्तेलले जनाएका छन् ।

त्यसैगरी, अधिया र ठेक्कामा खेती गर्ने कृषकहरुको हकमा धानबाली नष्ट भएको जमीनमा आवश्यक पर्ने धानको बिउ आगामी वर्षमा गाउँपालिकाबाट निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय भएको समेत प्रवक्ता पोर्तेलले जनाएका छन् ।

          November 22, 2021 3:00 pm | अर्थतन्त्र,मुख्य समाचार,लोकप्रिय,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: