पद्मश्री साधना सम्मान नलिने प्रश्रितको घोषणा

September 28, 2020 2:26 pm

काठमाडौं । साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन् । पुरस्कार दिने निर्णयसँगै आफ्नो चरित्र हत्या गर्न केही व्यक्ति र समूह लागेको भन्दै उनले पुरस्कार नलिने घोषणा गरेका हुन् ।

खेमराज हरिकला समाज कल्याण परिषदले आइतबार यसवर्षको पद्मश्री साधना सम्मान प्रश्रितलाई र सञ्जीव उप्रेतीको उपन्यास हंसलाई पद्मश्री साहित्य पुरस्कार दिने घोषणा गरेको थियो ।

तर उपन्यासकार उप्रेतीले यौन हिंसाको आरोप लागेका लेखकसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन गाह्रो हुने बताएका थिए । नेकपाकी कार्यकर्ता शारदा भुसालले पुस्तक लेखेरै प्रश्रितले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकाले सँगै पुरस्‍कार लिन नसक्ने उप्रेतीको जिकिर थियो ।

प्रश्रितले आफ्नो चरित्र हत्या गर्न केही व्यक्ति र समूह लागेको जिकिर गरेका छन् । ‘खेम हरिकला सामाज कल्याण परिषदले मलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकामा संस्थाप्रति आधार प्रकट गर्दछु । यो समाचार प्रकाशित भएपश्चात अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा मैले यो पुरस्कार नलिने निश्चय गरेको व्यहोरा सूचित गर्दछु’ उनले सोमबार विज्ञप्तिमा भनेका छन् ।

प्रश्रितले आफूले आयोजकसँग सल्लाहमै पुरस्कार नलिने घोषणा गरेको बताए । ‘मेरो नाममा के के बबण्डर गरे, उहाँहरुले दुबै जनालाई बोलाएर पुरस्कार दिने योजना बनाउनुभएको थियो, एक जनाले नलिने भनेपछि अहिले (कार्यक्रम) नराखौं भनेको हुँ’ उनले भने ।

प्रश्रितले अलि राम्रो वातावरण भएका बेला कार्यक्रम गर्न उपयुक्त हुने सल्लाह दिएको पनि बताए । अनलाइन बाट

          September 28, 2020 2:26 pm | मिडियाबाट साभार,राष्ट्रिय समाचार,साहित्य

प्रतिकृयाहरू :

समाचारहरु: