२०८० फागुन २२, मङ्गलवार , ०९:३१:४१ बजे

Sajhamanch
'

लेप्चाको ल्होछारः नामआल

बिहिवार, फागुन १, २०७६

इलाम l ल्होछार अर्थात ल्होसार, जुन शव्द प्रयोग गरे पनि यसले नयाँ वर्षलाई जनाउने हो । यसैले नेपालका आदिवासी जनजातिका विभिन्न समुदायले फरक फरक दिनमा ल्होछार मनाउने प्रचलन बसालेका छन् । तामाङहरुले सोनाम ल्होछार, शेर्पाहरुले ग्याल्वो ल्होसार र तमुहरुले तोला ल्होछार आफ्नो आफ्नो पात्रो र सम्वत अनुसार मनाउने गरेका छन् । यस उपलक्षमा आफ्नो परम्परा, संस्कृति र धर्म अनुसार नयाँ वर्षलाई स्वागत गर्ने र पुरानो वर्षलाई विदाई गर्ने मान्यता छ । यो पर्व शेर्पा, तामाङ, गुरुङ, थकाली, ह्योल्मो, जिरेल, हुम्ली, भोटेहरुले मनाउने गरेका छन् । तर यस बाहेक नेपालका अतिसिमान्तीकृत लोपोन्मूख आदिवासी लेप्चाहरुले पनि आफ्नै परम्परा र संस्कार अनुसार ल्होछार मनाउने गरेको सन्दर्भ भने नेपाली समाजमा कम चर्चा हुने गरेको छ ।

लेप्चाहरुले ल्होछारलाई नामआल पर्व भन्ने गरेका छन् । केहीले नामवान अथवा नामसुङ पनि भनेको सुनिन्छ । यसको अर्थ पनि नयाँसाल वा सुरुवातकै अर्थमा बुझिन्छ । तर अन्य ल्होछार जस्तो कुनै सम्वत वा पात्रोको आधार नबनाएर मिथक अनुसार यो पर्व मनाउने गरेको लेप्चा अगुवाहरुले बताएका छन् । रोङ सेजुम ठि अर्थात लेप्चा उत्थान मन्चका इलाम सूयोदय एकाई अध्यक्ष मनमाया लाप्चाका अनुसार पुषको औंसीको भोलिपल्ट प्रतिपदाका दिन नामआल पर्व मनाउने गरिन्छ । लाप्चा मिथक अनुसार लासो–मुङपुनु नाम गरेका एक राक्षसका राजालाई लाप्चाका पुर्खा देउता तामसाङ थिङले हत्या गरी वंशनासबाट जोगाएको खुशीयालीमा यो पर्व मनाउने गरिएको हो । ती राक्षसलाई औंसीको अँध्यारो रात्रिकालीन समयमा पराजित गरिएको थियो ।

यस कथनलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट प्रकाशित रोङ (लाप्चा) जातिको चिनारी नामक पुस्तकमा पनि उल्लेख गरिएको छ । अनुप राई, वीरबहादुर लाप्चा र मानवीर लाप्चाको संयुक्त लेखनमा प्रकाशित पुस्तकमा राक्षसका राजा मुङपुनु र लाप्चाका पुर्खा थिङबीच युद्धमा मुङपुनुले १२ जीव जनावरको रुपफेरेर युद्ध लडेको कथा छ । यो लडाई १२ वर्षसम्म चलेको थियो । यही मिथक अनुसार लाप्चाहरुले १२ जीव जनावरको नामबाट वर्ष परिवर्तन हुने विश्वास गरिन्छ । यो ल्होछार मान्नेहरुको ल्हो परिवर्तनसँग हुबहु मिल्न जान्छ ।

आदिवासी जनजाति महासंघ सूर्योदयका अध्यक्ष सोनाम ह्योल्मोका अनुसार लाप्चाहरुको समय चक्र, जस्तै वर्ष, महिनाको गणना गर्ने चलन छ । लाप्चा अगुवा मनमाया लाप्चाले जानकारी दिएअनुसार मुसा, गोरु, बाघ, चिल, चट्यांग, सर्प, घोडा, भेडा, बाँदर, कुखुरा, कुकर र सुंगुर वर्गमा विभाजन गरिएको छ । गत पौष आमवस्यापछिको प्रतिपदाबाट लाप्चाहरुको विश्वास अनुसार मुसा वर्ग अर्थात कलोकनाम सुरु भएको भन्दै विशेष उत्सव मनाएका थिए ।

आफूलाई रोङ भनेर परिचय दिने लाप्चाहरु आदिवासी जनजातिमा सूचिकृत समुदाय हो । यस समुदायको बहुल बसोबास इलामको सूर्योदय नगरपालिका क्षेत्रमा पर्दछ । यस बाहेक लाप्चाहरु भारतको सिक्किम र दार्जीलिङको मिरिक क्षेत्रमा बसोबास गर्ने गरेका छन् । लाप्चाहरुले नामआलमा पितृदेवता र प्रकृतिको पूजा गरेर नयाँसालको स्वागत गर्ने गर्दछन् । नयाँ अन्नबाली र कन्दमुल, फलफूल भगवानलाई चढाएपछि सम्पूर्ण प्राणी जगतको सुख शान्तिको कामना गर्दै शुभकामना आदान प्रदान गर्ने प्रचलन छ ।

लाप्चाहरुको सामाजिक संगठन रोङ सेजुम ठी अर्थात लाप्चा उत्थान मन्चले सो उपलक्षमा वर्षेनी विशेष औपचारिक कार्यक्रम गर्ने गरेको छ । पछिल्लो समयमा लाप्चाहरुको विशेष पर्व लोपोन्मुख अवस्थामा पुगेको छ । यसका लागि आदिवासीजन्य विभिन्न संघ–संस्थाले यस लोपोन्मुख संस्कृतिको संरक्षणको पहल प्रारम्भ गरेको छ । इन्डिजिनियस टेलिभिजनले पनि लोपोन्मुख आदिवासीका अमुर्त संस्कतिको संरक्षणका लागि काम गरिरहेको टेलिभिजनका अध्यक्ष देवकुमार सुनुवारले बताउनु भएको छ । यसै गरी इलामको सूर्योदय नगरपालिकाले पनि लोपोन्मुख आदिवासी लाप्चाको संग्रहालय निर्माणमा सहयोग गरेको छ । नगरपािलकाका उपप्रमुख दुर्गादेवी भट्टराईले आदिवासीको संस्कार र संस्कृतिको संरक्षणका लागि कार्यक्रम सुरु गरेको बताउनु भएको छ ।

(साभारः इन्डिजिनियस फिचर सेवा)

सम्बन्धित खबर