२०८१ साउन १२, शनिवार , ०६:५९:०१ बजे

Sajhamanch
'

एमसीसी पास गर्न प्रधानमन्त्री देउवाको सक्रियता बढ्यो, माओवादी अध्यक्ष दाहाल भेट्न पुगे देउवाका दूत

बुधवार, माघ १९, २०७८

काठमाडौं। संसद्को चालु अधिवेशनबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) जसरी पनि पारित गर्ने मनस्थितिमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सक्रियता देखाएका छन्। उनले सत्ता गठबन्धनभित्र सहमति जुटाउन आफूनिकट नेपाली कांँग्रेसका नेताहरूलाई परिचालन गरेका छन्।

एमसीसी पारित गर्न गठबन्धन दलभित्रैका नेताहरूबाट असहयोग हुने संकेत मिलेपछि प्रधानमन्त्री देउवाको दूत बनेर मंगलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्र बहादुर कार्की नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगे।

गठबन्धन दलका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसी यथास्थितिमा पारित गर्न नहुने बताउँदै गर्दा अध्यक्ष दाहालाई भेट्न सरकारका प्रवक्ता कार्की खुमलटार पुगेका हुन्।

यस्तै मंगलबार नै माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेट्न कांँग्रेस उपसभापति एवं प्रधानमन्त्री देउवाका अर्का विश्वास पात्र पूर्णबहादुर खड्का पनि खुमलटार पुगेको दाहालको सचिवालयका एक सदस्यले जानकारी दिएका छन्।

यसरी प्र्धानमन्त्री देउवाले माओवादी एमसीसी पारित गर्न सहयोग गर्न आग्रह सहित दुई नेतालाई माओवादी अध्यक्ष दाहाललाई भेट्न पठाएका हुन।

आइतबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न सरकारका कार्की बालकोट पुगेका थिए। सत्ता गठबन्धन दलबाट एमसीसी पारित गर्न सहयोग नमिलेको अवस्थामा प्रमुख प्रतिपक्षि दलसँग सहकार्य गर्न विकल्प खुला राख्न प्रधानमन्त्री देउवाको निर्देशनमा मन्त्री कार्की बालकोट पुगेका थिए।

यस्तै प्रधानमन्त्री देउवा स्वयंले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई फोनमार्फत एमसीसी पारित गर्ने वातावरण बनाउन आग्रह गरेको स्रोतको दाबी छ।

मोओवादी केन्द्रमा अध्यक्ष दाहाल एमसीसी सम्झौता संशोधन भएको अवस्थामा पारित गर्न सकिने बताउने गरेका छन् भने नेता श्रेष्ठ पारित गर्नै नहुने धारणा राख्दै आएका छन्।

सम्बन्धित खबर