तिमीसँग विछोडिनु पर्दा
मन भतभती पोल्नु पर्ने हो
सँगै विताएका ती थुप्रै दिनहरु
मस्तिष्कमा छाप बनेर बस्नु पर्ने हो
अनि गाँसिएका सबै नाताहरु
बाटिएको डोरी झै कसिलो हुनु पर्ने हो ।
तर तिम्रो समय सिमाभित्र
कति कोपिलाहरु नफक्रि झरेका छन्
काख रित्तिएर कति आमाहरु रोएका छन्
छहारी भत्किएर आस्रितहरु बेघरवार भा का छन्
जोडीरुपी प्रेममाला चुडिएका छन्
थुप्रै मान्छेहरू आहत र मर्माहत छन्
मनभरी पीडा र वेदनाको थुप्रो छ
दिन र रात कहाली लाग्दा भा का छन्
अस्थिपञ्जरको नयाँ पहाड नै ठडिएको छ ।
नभत्किएरै पनि शहर भग्नावशेष झै बनेको छ
चीत्कार र कोलाहलले राज गरेको छ
मर्ने भन्दा बाँच्नेहरुलाई आपतले घेरेको छ
तिमी मूकदर्शक बनेर हेरि मात्र रह्यौ
र त तिमी हुनु र नहुनुमा फरक नै रहेन
मन भारी बनाउँदै र आँशुका धारा बहाउँदै
तिम्रो विदाईमा हात हल्लाउन पनि सकिन
मिठो वचनमा जाउ है पनि त भनिन ।
तिमी रहँदै गर्दाका दुःखद कहरहरु
हृदयभरी घाउ बनेरै बस्ने छन्
कहिले काहीँ याद आइ हाले पनि
तिनै कहाली लाग्दा क्षणहरु सल्बलाउने छन्
त्यसैले एउटा भावहिन आक्रान्त विदाई ।
उसको बहिर्गमनसँगै वसन्त छाएको छ
नयाँ पालुवासँगै कोही दैलैमा आएको छ
पाउनालाई दस औंलाको अभिवादन छ
तर विगत झै तिमी रोगाउँनु पटक्कै हुँदैन
मानव वस्तिमा आतङ्क झनै फैलाउँनु हुँदैन
खुसी र उमङ्ग तिम्रा पोल्टाभरी हुनुपर्छ
सबै जिवात्माले रमाएर बाँच्न पाउनु पर्छ
सिमा र रङमा कैद भएको मनस्थितिहरु
फराकिला र मानवीय हुनु पर्छ
यी हाम्रा इच्छा,चाहना सम्बोधन हुने गरि
सुदिन लिएर साँच्चै आएका हौ भने
रातो तुल बाटाभरी ओछ्याएर स्वागत छ
धुलो मैलो रोग भोक शोक सबै पखालेर आउ
२०७७ तिमीलाई हामी सबैको स्वागत छ
स्वागतम । स्वागतम ।। स्वागतम ।।। २०७७ लाई ।।