बुद्धशान्ति । विश्वभर फैलिरहेको नोवल कोरोना भाइरसका कारण नेपालमा पनि चैत्र ११ देखि लकडाउन जारी छ । लकडाउनका कारण विपन्न वर्गका मानिसहरुलाई दैनिक गुजारा गर्न निक्कै कठिन भइरहेको अवस्थालाई दृष्टिगत गरी नेपाली कांग्रेसबाट विजयी भएका बुद्धशान्ति गाउँपालिकाका सबै जनप्रतिनिधिहरुले चैत्र महिनाको सेवा सुविधा बुद्धशान्ति प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् ।
७ वटा वडा रहेको बुद्धशान्ति गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलसहित ३ जना वडाध्यक्ष र ६ जना वडासदस्य गरी १० जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
नेपाली काँग्रेस बुद्धशान्तिले गाउँपालिका अध्यक्षको सेवा सुविधा वापतको ३२ हजार ५००, वडाध्यक्षको १९ हजार ४००का दरले र वडासदस्यको ७ हजार ५०० का दरले हुन आउने जम्मा एक लाख ३५ हजार ७०० रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नेपाली कांग्रेस बुद्धशान्तिका सभापति चक्र शेर्माले बताएका छन् ।
नेपाली कांग्रेसले यसअघि गाउँपालिकालाई राहत कार्यमा सहयोगका लागि एक हजार २०० केजी चामल दिएको थियो ।