२०८१ पौष १४, आइतवार , ०१:३१:२८ बजे

Sajhamanch
'

हल्दीबारी गाउँपालिका राहत कोषमा नेकपाको ७० हजार सहयोग

सोमवार, चैत २४, २०७६

हल्दिबारी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हल्दीबारी गाउँ कमिटीले आफ्ना पार्टी सदस्य एवम् कार्यकर्ताहरुबाट संकलन गरिएको ७० हजार रुपैयाँ हल्दिबारी गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले स्थापना गरेको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा नेकपाले उक्त रकम सहयोग गरेको जनाइएको छ । सो गाउँपालिकामा बसोबास गर्ने अतिविपन्न, अशक्त, असहाय, दैनिक ज्यालादारीमा काम गर्ने कामदार र मजदूरहरुलाई राहत वितरण गर्नका लागि उक्त सहयोग परिचालन गरिने छ ।

नेकपा हल्दिबारीका अध्यक्ष याम राईको नेतृत्वमा, १ न. प्रदेश कमिटी सदस्य एवम् निर्वाचन क्षेत्र न. ३ का इन्चार्ज पुष्पराज पोखरेलले गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन र उपाध्यक्ष डम्बरबहादुर गिरीलाई राहत सहयोगको चेक हस्तान्तरण गरेको हो ।

गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले दिएको जानकारी अनुसार सो सहयोग हस्तान्तरणमा जिल्ला कार्यालय सदस्य एवम् संविधानसभा सदस्य मोहन टुडु, जिल्ला कमिटी सदस्यहरु नारायण पोखरेल, धर्मराज शिवाकोटी, याम दंगाल र स्थानीय नेताहरु सहभागी थिए ।

सहयोग रकमको चेक हस्तान्तरण गर्दै नेकपा हल्दिबारीका अध्यक्ष याम राईले चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण इटाली, अमेरिका, युरोप हुँदै छिमेकी मुलुक भारत र हाल नेपालमा समेत सुरु भइसकेको हुँदा सबै सचेत र इमान्दार भई सरकारले घोषणा गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्नु पर्ने बताए ।

लकडाउनको समयावधि लम्बिदै जाँदा अतिविपन्न, अशक्त र दैनिक ज्यालामजदुरी गरी जीवन चलाउने परिवारलाई जीविकोपार्जनमा कठिनाई हुने भएको हुँदा राहत वितरण गर्दा वास्तविक घरपरिवारहरुको छनौट गरी वितरण गर्न उनले गाउँपालिकालाई सुझाव समेत दिए ।

पार्टीको तर्फबाट यो सहयोग प्रारम्भिक चरणको भएकोले आवश्यकता परे पुनः सहयोग गर्ने प्रतिबद्धतासमेत अध्यक्ष राईले व्यक्त गरे ।

सम्बन्धित खबर