धुलाबारी । अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएकी सीता उप्रेतीले आज आफ्नो ५२औं जन्मदिनको सन्दर्भ पारेर यहाँका अति विपन्न २४ परिवारलाई खाद्य सामग्री सहयोग गरेकी छन् । मेचीनगर १० स्थित बुद्धटोलमा बसोबास गर्ने विपन्न वर्गका २४ परिवारलाई चामल, दाल, खानेतेल, नून र चिनी प्रदान गरिएको हो ।
सीताको जन्मदिनमा वर्षेनी गरिँदै आएको सहयोगलाई निरन्तरता दिँदै यसवर्ष पनि विपन्न समुदायका २४ परिवारलाई खाद्यान्न प्रदान गरिएको हो । यहाँका विपन्न परिवारका घरघरैमा गएर बालकृष्णकी भाउजू गीता उप्रेती, सीताकी बहिनी तुलसा र ध्रुव कँडरिया तथा ज्वाईं केशव सिटौलाले ती सामग्री हस्तान्तरण गरेका हुन् ।
बालकृष्णका दाजु लक्ष्मीप्रसाद उप्रेतीका अनुसार सरकारले लागू गरेको लकडाउनलाई मध्यनजर गर्दै सामुहिक रूपमा कार्यक्रम नगरी घरघरै पुगेर २० हजार रुपैयाँ मूल्य बराबरका खाद्य सामग्री प्रदान गरिएको हो ।
आफ्नै घरमा खाद्य पदार्थ पाउँदा खुशी व्यक्त गर्दै सुमित्रा राजवंशीले बन्दका बेला पाएको सहयोगले राहत मिलेको प्रतिक्रिया दिँदै दाता परिवारलाई धन्यवाद दिइन् । मेचीनगर १० स्थायी घर भई हाल अमेरिकामा रहेका बालकृष्ण र सीता उप्रेतीले आफ्नो जन्मदिनमा वर्षेनी विपन्न परिवारलाई सहयोग गर्दै आएका छन् ।