हिजोआज चलिरहेको कोरोनाको त्रासदिपूर्ण अवस्थामा हामी आफ्नै आवासमा कैद भएका छौँ । यो एउटा कठिन परिस्थितिमा मानव अस्तित्वको रक्षार्थ विश्व समुदाय नै एकान्तबासमा रहेको छ। यो एक अवसर पनि हो। यो समय सकारात्मक सोच, विचारको समय हो। पास्कल भन्छन, ‘हाम्रो आजको उपलब्धी हाम्रो हिजोको विचारको जम्मा पुँजी बाहेक केही होइन । तपाईं आज त्यहीँ हुनुहुन्छ, जहाँसम्म हिजोको विचारले तपाईंलाई ल्याइपुर्याएको छ र तपाईं भोलि पनि त्यहीँ रहनुहुनेछ जहाँ आजको सोचले तपाईंलाई लैजानेछ।’
यो परिस्थितिमा परिवारको सामिप्यता अनुभव गर्ने अवसर प्राप्त भएको छ। बालबालिकाहरुलाई यसो गर र उसो गर भनी निर्देशन दिने अभिभावकको लागि यो परीक्षाको घडीभन्दा कम छैन । उदाहरणीय बन्नु छ । बिहानदेखि बेलुकीसम्मको पारिवारिक दैनिकी बिताउनु छ। हाम्रा आस्था, आदर्श, मूल्य, मान्यता, सुनौलो भविष्यप्रतिको सकारात्मक सोच तथा ,ब्यवस्थित दैनिकी र जिम्मेवारी वहनजस्ता ब्यवहारिक सिपको विकास गर्नु परेको छ ।
बालबालिकाहरुले भनेको भन्दा गरेको हेरेर छिट्टै सिक्छन्।त्यसैले उनीहरुलाई सुधार्न आफैंबाट सुरु गर्नुपर्छ । हामी अभिभावकमा रहेको कमजोरी तथा खराब बानी पहिचान गरी त्यसलाई परिवर्तन गर्नुपर्छ । त्यसबाट बालबालिकाहरु पनि उत्प्रेरित हुन्छन् । यो समयमा अभिभावकले उनीहरुको सकारात्मक पक्षहरूको चर्चा गरिदिनु पर्छ । हरेक दिन तिमी गर्न सक्छौ अर्थात म गर्न सक्छुू भन्ने भावनाको विकास गर्ने खालको छलफल गर्नु राम्रो हुन्छ । नकारात्मक टिप्पणीबाट आफू पनि टाढा बस्नुहोस र बालबालिकाहरुलाई पनि टाढा राख्नुहोस् । यथार्थको जानकारी दिनुहोस् तर काल्पनिक भय र त्रासबाट उनीहरुलाई बचाउनु पर्छ। अभावलाई स्वभावले, डर र चिन्तालाई आनन्द र खुशीले जित्न सकिन्छ। खुशी एक छनोट हो, एक विकल्प हो जुन हामी मध्ये धेरैले जीवनमा प्राप्त गर्छौं । कोरोनाको भन्दा डर र चिन्ता धेरै विनाशकारी हुन्छ । पारिवारिक र व्यक्तिगत लक्ष निर्धारण गर्नुहोस् । अनि लक्ष्यतर्फ आफ्ना पाइलाहरु अघि बढाउनु होस् ।
विगतका सफलता र असफलताहरु आगामी लक्ष प्राप्तिका लागि बाधक नबनुन। सफलता एक लक्ष प्राप्तिदेखि अर्को लक्षसम्मको यात्रा हो। लक्षविहीन भएर बाँच्नु मानसिक रुपमा मृत बराबर हो। मिलेर बाँच्न, बाँडेर खान, सहयोगी हुन र सही काम गर्न सिक्ने बेला यही हो। सजिलो काम सबैले गर्छन् तर सही काम गर्नेले सफलता हासिल गर्दछ । इच्छाहरु होइन आवश्यकता पहिचान गर्न र प्राथमिकता दिन जानेमा जीवन सहज बन्छ। बालबच्चाहरु स्वप्नदर्सी तथा अभिलाषी हुन्छन् । शेक्सपियर भन्छन, ‘हामी तिनै चिजले बनेका हुन्छौं जुन चिजहरुले सपनाको निर्माण गर्छ।’ उनीहरुलाई सपना देख्न दिनुपर्छ । आजका सपनाहरु भोलिको यथार्थ हुन् । विश्वासले भरिएका सकारात्मक वाक्य बोल्दा जादुमय परिवर्तन आउन सक्छ। सो को अभ्यास गरेर हेर्न सकिन्छ ।
उनीहरुको क्षमता, रुचि, स्वभाव अनुरुपको सकारात्मक क्रियाकलाप गर्न प्रोत्साहित गर्नुपर्छ । ताजा र स्थानीय क्षेत्रमा उपलब्ध खाना खानु राम्रो हुन्छ । व्यायाम, सरसफार्इ र रमाइलो कुराकानीले उनीहरुको तन र मन दुवै स्वास्थ रहन्छन् । मोबाइल, टिभी, ईन्टरनेट लामो समयसम्म प्रयोग गर्दा आँखामा समस्या आउँछ। यसलाई सिमित गर्नु राम्रो हुन्छ। दुःखद समय केही क्षणको लागि हुने भएकोले धैर्य गर्नुपर्छ, यी पलहरु पनि बितिजान्छ्न्।
हुन त मानवीय जीवनमा अवसरभन्दा चुनौतीका चाङ्ग नै बढी हुन्छन् । हामीले देखे र सोचेजस्तो परिस्थिति आफ्नो बसमा हुन्न । रहरै रहरले भरिएको जीवनमा चुनौतीपूर्ण यात्रा कठिन हुन्छ । बालबालिका र परिवारकै लागि ब्यतित गरेको हाम्रो समय पनि त तिनै बालबालिका र परिवारकै लागि त हो नि ! उनीहरुको लागि गरिएको मेहनत मात्र प्रतिष्ठा र सम्पत्ति मात्र हुनुहुँदैन ।आत्मियता र प्रेम पनि उतिकै महत्त्वपूर्ण हुन्छ । सिङ्गो विश्व मौन भएको बेला हामी पारिवारिक र शारीरिक रुपमा मजबुत बनौं ।‘मेरा लागि लकडाउन म मजबुत छु भन्ने संदेश हाम्रा सन्तानलाई दिनु हाम्रो जिम्मेवारी पनि हो।’ आफ्ना अनुभव सुनाऔं र बालबालिकाका योजना सुनौं । अनि प्रेरित गरौं । यसरी रमाइलो र उपयोगी प्रकारले यो लकडाउनलार्ई अविस्मरणीय बनाउन सकिन्छ ।