शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगर भित्र विपन्न परिवारका लागि राहत प्याकेज ल्याउने भएको छ ।
कोरोना (कोभिड १९) को मारमा परेका शिवसताक्षी नगरका अतिविपन्न बर्गका नागरिकलाई नगरको विपत् व्यवस्थापन समितिले एक हप्ता सम्मका लागि प्रति व्याक्ति प्रतिदिन ५ सय ग्राम चामल राहत दिने भएको हो ।
नगरले पहिलो चरण अन्तर्गत प्रति व्यक्ति प्रतिदिन ५०० ग्रामका दरले सात दिन सम्म पुग्ने एक मुष्ठ ३५० किलो ग्राम चामल प्रदान गर्ने निर्णय गरेको हो ।
चामलसँगै समितिले प्रतिपरिवार १ लिटर खाने तेल, १ किलोग्रामका दरले प्रतिपरिवार दाल र नुन प्रदान गर्ने नगर प्रमुख चन्द्रकुमार शेर्माले बताए । समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख शेर्माले प्रतिपरिवार एउटा लाइफब्वाई साबुन र प्रति व्यत्तिm एउटा मास्स पनि बितरण गर्ने जानकारी दिए ।
समितिको बैठकमा एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय भएको छ । वडा कार्यपालिकाबाट वडाका अति विपन्न वर्गको लगत संकलन गर्ने र सोको आधारमा वडा नम्बर २ का अध्यक्ष कुलबहादुर बस्नेतको संयोजकत्वमा आइतबारै गठित राहत व्यवस्थापन समितिले वितरण गर्ने निर्णय भएको छ ।
शिवसताक्षी नगरमा ३ महिनासम्म आफैले उत्पादन गरेको अन्न खान पुग्नेको संख्या ६०० घर छ । यसैको अनुपातमा पनि समितिले करिव १०५ कुइटल चामल पहिलो चरणमा राहत वितरण गर्नुपर्ने देखिन्छ । नगरपालिकाले कारोना प्रकोप राहत कोषमा १० लाख रुपैंयाँ जम्मा गरेको छ । क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष भैरवकुमार श्रेष्ठका अनुसार कोषबाट करिव ५ लाख खर्च भईसकेको छ । पहिलो चरणको राहत वितरणमा कोषबाट बचेको रकम खर्च गर्ने र अन्य दाता संग पनि सहयोगको आवहान गर्ने बैठकमा निर्णय भएको छ । सो समितिले मंगलबारदेखि राहत वितरण गर्ने बताएको छ ।
बैठकमा राहत वितरणका नाममा जंकफुडका आइटम नगरमा पुर्ण निषेधको निर्णय भएको छ । दाताले दिने राहतका सामाग्री नगर स्तरीय राहत व्यवस्थापन कोषमा जम्मा गरेर समिति मार्फत दाताको उपस्थितीमा वितरण हुने भएको छ । चाउचाउ, बिस्कुट, कुरमुरे, फ्रुटी लगायत प्लाष्टिकको प्याक भित्रका जंकफुडले पिडीतको शारीरिक नोक्सान हुने भन्दै यस्तो निर्णय भएको हो । नगरको अनुमती विना व्यक्ति वा संघ संस्थाले राहत वितरण गर्न शिवसताक्षी नगरमा निषेध गरिएको छ ।
बैठकमा रेडक्रस सोसाइटी शिवसताक्षी नगर उपशाखाका सभापती नारायणप्रसाद दाहालले गाँउमा किसानले उत्पादन गरेका तरकारी बजार नपाएर कुहिन थालेको बताउदै त्यसको बिक्रीका लागि तत्काल पालिकाले व्यवस्थापन गर्न माग गरेका थिए । उनले माई खोलामा किसानले लगाएको काँक्रा र तरबुजा पनि कुहिन थालेको बताए । सभापती दाहालले पेस गरेको प्रस्तावमा किसानले उत्पादन गरेका तरकारी कुहिएर खेरजान नदिन ढुवानीका साधनमा बढीमा दुई जनाले नगर भित्रका बजारमा बिक्री गर्न पाउने निर्णय भएको छ ।
लक डाउनको मौका छोपेर बढी मुल्यमा खाद्य बस्तु बिक्री गर्ने र कालाबजारी गर्ने व्यवसायीलाई नगर स्तरीय अनुगमन समितिले कार्वाही गर्ने भएको छ । यस अघि बढी मुल्यमा बिक्री गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेलाई समितिले सम्झाउने गरेको थियो । अब, नगरको निर्णय अटेर गर्ने व्यापारीको बिक्री सामान जफत गर्ने समेत निर्णय भएको छ ।
गाँउ गाँउमा लक डाउनको सन्देश पुग्न नसकेको भन्दै केही वडा अध्यक्षले राखेको जिज्ञासामा नगर प्रमुख शेर्माले तत्काल माईकिङ्ग दाहोर्याउन सम्बन्धित शाखालाई निर्देशन दिएका छन । उनले भने, ‘घर भित्र बसे सुरक्षीत, नबसे असुरक्षीत, सरकारले आव्हान गरेको लक डाउनको पुर्ण पालना गर्न नगरबासीमा अनुरोध छ ।’
नगरभित्रका प्रहरी र स्वास्थ्यकर्मीले माक्स, सेनिटाइजर, पञ्जा, थर्मोमिटर लगायत आवश्यक सामाग्री अझै पनि उपलव्ध हुन नसकेको गुनासो गरे । कोरोनाको जोखिममा सबैभन्दा बढी प्रहरी र स्वास्थ्यकर्मी पर्ने भएकाले आवश्यक सामाग्री उपलव्ध गराइदिन उनीहरुले माग गरेका छन् । प्रदेश सांसद झलकसि दर्लामी मगरले संघीय सरकारले प्रहरी र स्वास्थ्यकर्मीलाई आवश्यक सामाग्री तत्काल उपलब्ध गराउन सुरु गरेको जानकारी दिए ।