मेचीनगर । भारत लगायत अन्य मुलुकबाट फर्किएकाहरुमा नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फेला पर्न थालेपछि मेचीनगर नगरपालिका वडानम्बर– ६ का वडाध्यक्ष ललितबहादुर तामाङ स्वास्थ्यकर्मीको टोली लिएर यतिखेर आफ्नो वडाभित्रका प्रत्येक गाउँघरमा पुग्ने गरेका छन् ।
नेपालमा हालसम्म पाइएका ५ जना कोभिड १९ संक्रमितहरु सबै विदेशबाट फर्किएकाहरु भएकाले सो वडाबासीमा पनि यसैको खोजी भइरहेको हो । सबैभन्दा पहिला चीनको वुहानबाट फर्किएका एक व्यक्तिमा यसको संक्रमण देखिएको थियो । एक हप्तासम्म संक्रमण कसैलाई देखिएन । एकहप्ता यता फ्रान्स, युएई, दुवई र वेल्जियमबाट आएका थप चारजनामा यसको संक्रमण देखिएको छ ।
मेचीनगर नगरपालिकाले विदेशबाट आउनेको तथ्याङ्क संकलन गर्न शुरु गरे लगत्तै वडाध्यक्ष तामाङ स्थानीय स्वास्थ्यकर्मी दीलिप सुवेदीलाई लिएर गाउँ पसेका हुन् । इन्फ्रारेड थर्मामिटरबाट प्रत्येकको तापक्रम मापन गर्ने, उच्च ज्वरो आए नआएको, रुघामर्गी, श्वास प्रश्वासमा समस्या थकानलगायतका बारेमा स्वास्थ्यकर्मीको टोलीले जानकारी लिने गरेको छ ।
विदेशबाट आएर होम क्वारेन्टाइनमा रहेका केही व्यक्तिलाई ज्वारो खोकी लागेका थाहा पाएर स्वास्थ्यकर्मीसहितको टोली लिएर आफू त्यहाँ पुगेको उनको भनाई छ । सवैको स्वास्थ्य अवस्था समान्य रहेको चिकित्सकले जनाएका छन् ।
वडाध्यक्ष तामाङले केही दिन अघिमात्र आफ्नो फेसबुकमार्फत चैत ४ गते कतारबाट आएका शेरहादुर लिम्बू, मिलन सुब्बा, दिक्षा कार्की, महेन्द्र राजवंशी नाम गरेका व्यक्तिहरुलाई स्थानीय प्रशासनमा सम्पर्कका लागि आउन आग्रह गरेका थिए । वडानम्बर ६ मा अहिले पनि विदेशबाट आएका १५ जना होम कवारेनटाइनमा रहेको उनको भनाई छ ।