२०८१ पौष १२, शुक्रवार , ०९:१७:४२ बजे

Sajhamanch
'

मेचीनगरबाट कोभिड १९ सन्दर्भमा यस्तो निर्णय आयो

आइतवार, चैत १६, २०७६

मेचीनगर । नोवल कोरोना भाइरस (कोभिड– १९) को संक्रमण र सन्त्रासबाट उत्पन्न हुनसक्ने जोखिमलाई नियन्त्रण गर्न मेचीनगरमा गठित कार्यदलले पूर्वीनाकाबाट संक्रमण भित्रिन नदिन सहयोग गर्ने सबै संघ–संस्थाका स्वयमसेवक, सुरक्षाकर्मीलगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ ।

कार्यदलको आइतबार सम्पन्न बैठकले विभिन्न संघ–संस्था, राजनीतिक दल तथा सरकारी वा गैरसरकारी कार्यालयले देखाएको सहयोग सद्भावको उच्च मूल्याङ्कन गदैं आगामी दिनमा समेत यस्तै साथ सहयोगको अपेक्षासहित धन्यवाद ज्ञापन गरेको हो ।

बैठकले कोभिड १९ को संक्रमण र सन्त्रास नियन्त्रण कार्ययोजना स्वीकृत गरेको सदस्य सचिव अनन्तप्रकाश वस्तीले जानकारी दिएका हुन् । स्वास्थ्यकर्मी र फिल्डमा खट्ने कर्मचारीको सुरक्षाको जिम्मा नगरपालिकाले लिने, अत्यावश्यक सेवा र खाद्य सामग्रीको उपलब्धता र ढुवानीको व्यवस्थापनका लागि मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनालाई वैठकले जिम्मेवारी प्रदान गरेको वस्तीले जनाए ।

होटल व्यवसायी संघसँग हाल होटलमा रहेका सेवाग्राहीको विवरण माग गर्ने र क्वारेन्टाइनको व्यवस्थापन गर्ने, सम्बन्धित उद्योग, कल कारखाना, चिया बगानमा कार्यरत मजदूरहरुलाई सम्बन्धित उद्योगीले नै खाद्यान्नको व्यवस्थापन गर्नुपर्ने र असंगठित मजदूरका हकमा नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको संयोजकत्वमा राहत संकलन तथा वितरण मपदण्ड निर्धारण समिति गठन गरी राहत उपलब्ध गराउने निर्णय भएको छ ।

राहतलाई व्यवस्थित र पारदर्शीरुपमा वितरण गर्न गठित समितिको सदस्यहरुमा नेकपाका मेचीनगर अध्यक्ष माधवलाल अर्याल, नेपाली काँग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्य, नेपाल पत्रकार महासंघ झापा शाखा सचिव सन्तोष आचार्य, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना र नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती सदस्य सचिव रहने जनाइएको छ ।

सम्बन्धित खबर