सर्वत्र कोरोनाको सन्त्रास छ । कोरोना भाइरसको संभावित जोखिम नियन्त्रण गर्न विद्यालय लगायत भीडभाड हुने संघ–संस्था, व्यापारिक भवन, सिनेमा हल आदि बन्द गरिएको छ । अब हवाई सेवा र लामो दुरीको यातायात सेवा पनि बन्द हुँदैछ ।
कोरोना भाइरसले कहाँ के भयो, कति मान्छे संक्रमित भए, कतिको ज्यान गयो, उपचारका लागि के कस्ता प्रयास भइरहेका छन् ? यावत् विषयमा चर्चा परिचर्चा भइरहेका छन् । साथसाथै गलत हल्ला पनि फैलिएको छ । सामाजिक सञ्जालको सहज पहुँचले गर्दा यस्ता हल्ला घर–घरमा पुगेको छ । यस्तो पृष्टभूमीमा बालबच्चाहरु अन्यौल र द्विविधामा पर्न स्वभाविक हो ।
उनीहरुको मनमा अनेकौ जिज्ञासा उत्पन्न भइरहेका होलान् । उनीहरु डराइरहेका वा आतंकित भइरहेका पनि हुनसक्छन् । आफन्त, परिवारका सदस्यलाई भाइरसको संक्रमण हुन्छ कि भनेर चिन्तित पनि होलान् । यसैले बालबच्चालाई यस भाइरसको बारेमा स्पष्ट र सही कुरा बताउनु अभिभावकको दायित्व हो । साथसाथै यसबाट आतंकित हुने नभई सर्तक एवं सावधान रहनुपर्छ भन्ने कुरा सिकाउनुपर्छ । व्यक्तिगत सरसफाईदेखि आवश्यक सर्तकता कसरी अपनाउने भन्ने कुराको ज्ञान दिनुपर्छ ।
कोरोनाको कुरा
कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या आजसम्ममा ११ हजार नाघेको छ । करिव तीन महिनाअघि चीनको हुबेई प्रान्तस्थित वुहानबाट प्रारम्भ भएको कोरोना भाइरसको संक्रमण विश्वका झण्डै एक सय ६८ देशहरुमा फैलिसकेको छ भने करिव साढे दुई लाख मानिसहरु संक्रमित भैसकेका छन् ।
यसरी विश्वभरीमा जसो–जसो कोरोना भाइरसका बिरामीहरुको संख्या बढिरहेको छ, त्यसै–त्यसै यो भाइरससंग सम्बन्धित सही तथा गलत जानकारीहरु प्नि मानिसहरुसमक्ष पुगिरहेका छन् । तीनै जानकारीहरुलाई तपाईंंका बच्चाहरुसम्म पनि पुगिरहेका छन् ।
हुनसक्छ, तपाईंले सही र गलत जानकारीको भिन्नतालाई सम्झनु हुन्छ, तर बच्चाहरुका लागि त्यसरी निर्णय गर्न निकै गाह्रो हुन्छ ।
साथै विभिन्न प्रकारका सनसनी मच्चाउने समाचाहरुले अधिकांश सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरु भरिएका छन् । तीनले तपाईंका बच्चाहरुको मनमा एक प्रकारको डर पैदा गर्न सक्ने सम्भावना हुन्छ ।
त्यसैले बच्चाहरुलाई यसप्रकारले जानकारी दिनु पर्छ, जसलाई सुनेर उनीहरु नडराइकन सही कुरा बुझ्न सकून् ।
बच्चाहरुले सोध्न सक्ने प्रश्न
—के म बिरामी हुन्छु ?
—के मेरो विद्यालय लामो समयसम्म बन्द भैरहन्छ ?
—के मेरा हजुरबुवा अथवा हजुरआमाको निधन हुनेछ ?
डरबाट जोगाउनु पर्छ
अभिभावकत्वका बारेमा आधारित एउटा पुस्तक ‘ह्वाट माइ चाइल्ड थिङ्किङ’ का बारेमा कन्सल्टेन्ट तथा क्लिनिकल मनोवैज्ञानिक अंगहारात रडकिन भन्छिन्—‘बच्चाहरुसंग कुराकानी गर्ने क्रममा तपाईंको आवाजको टोनले निकै नै ठूलो महत्व राख्छ ।’ उनका अनुसार एउटा हदसम्म हामीलाई डरलाग्दा कथाहरु मनपर्छ, तर हामी त्यस्ता कथाहरु सुनिरहन्नौं । आफुना बच्चाहरुलाई कोरोनाको खतराबाट बचाउनका लागि उनीहरुलाई सजिलो शब्दहरुमा प्रेमपूर्वक भाइरस कसरी फैलिन्छ र यसको खतरालाई कसरी कम गर्न सकिन्छ, जस्तै हात धुँदै, साबुनको फिँसंग खेल्दै पनि बताउन सकिन्छ ।
बच्चाहरुलाई तपाईंले कोरोना भाइरसका बारेमा उनीहरुले बुझ्ने भाषामै बुझाउनु पर्छ । जस्तै—कोरोना भाइरसलाई विश्व स्वास्थ संगठनले कोभिड–१९ नामाकरण गरेको कुरा, कोरोना भाइरस भनेको एउटा स्वास–प्रश्वास सम्बन्धि बिरामी हो, जसमा ज्वरो पनि आउँछ, सुख्खा खोकी पनि लाग्छ भन्ने कुरा पनि सम्झाउनु पर्छ । यो रोग लाग्यो भने रुघा पनि लाग्न सक्छ । करीव एक हप्तापछि स्वास फेर्न नै गाह्रो हुन्छ र केही बिरामहरुलाई अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ । बच्चाहरुलाई कोरोना भाइरसले संक्रमित हुने हरेक व्यक्तिको निधन हुँदैन, ठूलो संख्यामा बिरामीहरु उपचारपछि घर पनि फर्किएका छन् भन्ने कुरा पनि बुझाउनु पर्छ ।
अन्त्यमा, उनीहरुलाई सरसफाइ, साबुन पानीले हात धुने, नाक, मुख, आँखामा हात नलैजाने भन्ने कुरा चाहिं दोर्याएर सम्झाउनु पर्छ ।
अनलाइनखबर