काठमाडौं । मेलम्चीको पानी काठमाडौं ल्याइसकेपछि उपत्यकामा कसरी वितरण गर्ने भन्ने सम्बन्धमा कार्ययोजना बनाइने भएको छ ।
खानेपानी मन्त्रालयको सभाहल सिंहदरबारमा आज शुक्रबार खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा भएको छलफलमा मेलम्चीको पानी वितरणको कार्ययोजना बनाउने निर्णय भएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले कार्य योजना बनाएर पानी वितरण गर्ने तयारी गरिरहेको सो अवसरमा बताइयो ।
छलफलमा मन्त्री मगरले पानी वितरण प्रणाली र चुहावटमा बढी ध्यान दिन केयुकेएललाई निर्देशन दिइन् । मेलम्चीको पानी काठमाडौं आउनुपूर्व अहिले भइरहेको चुहावटमा ध्यान दिन मन्त्री मगरले केयुकेएलको ध्यानाकर्षण गराइन् । पाईप फुटेर कहीँकतै लिकेज (चुहावट) भएको छ भने तुरुन्त फिल्डमा गएर मर्मत गरिहाल्न मन्त्री मगरको निर्देशन थियो ।
मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा जम्मा भइसकेपछि अहिले वितरण भइरहेको पुरानै प्रणालीबाट उपत्यकाका विभिन्न ठाउँहरुमा वितरण गर्ने र नयाँ वितरण प्रणालीबाट पछि वितरण गर्दै जाने योजना बनाइएको केयुकेएलका कार्यकारी प्रमुख मिलन शाक्यले बताए ।
सुन्दरीजलमा बनेको प्रशोधन केन्द्रमा मेलम्चीको १७ करोड लिटर पानी प्रशोधन भइसकेपछि त्यही पानी सुरुवाती चरणमा पुरानै पाइपलाइन प्रणालीबाट वितरण गर्ने योजना रहेको शाक्यले सुनाए ।
‘उपत्यकाका घरघरमा पुरानै प्रणालीबाट पानी वितरण गर्दै लगिनेछ’ शाक्यले भने ‘नयाँ पाईपलाईन प्रणालीलाई पनि हरेक दिन सँगसँगै परीक्षण गरिनेछ । एकैचोटी नयाँ प्रणालीबाट पानी वितरण गर्दा समस्या आउला भनेर यसोगर्न लागिएको हो ।’
मेलम्चीको पानी पहिलो चरणमा अनामनगरस्थित नयाँ पाइपलाईन वितरण प्रणालीबाट वितरण गर्ने तयारी रहेको छ । सुरुवातमा ५१० वटा धाराहरुमा पानी वितरण हुनेछ । अहिले काठमाडौं उपत्यकामा २ लाख २१ हजार ६०० धाराहरु बनिसकेका छन् ।
यसैबीच बैठकमा मन्त्री मगरले कोरोनाको सम्भावित संक्रमणबाट सावधानी अपनाउनु पर्ने भन्दै खानेपानीको महसुल तिर्नुपर्ने समयावधि एक महिना थप गर्न निर्देशन दिइन् । एक महिनापछि पनि जरिवाना तिर्न नपर्ने गरी महसुल तिर्ने समयावधि बढाउन केयुकेएललाई मन्त्री मगरको निर्देशन छ ।