२०८१ कार्तिक २०, मङ्गलवार , ०२:२५:१७ बजे

Sajhamanch
'

आत्मबलका अगाडि शारिरीक दुर्वलतालाई फिका बनाउँदै दिपेश योञ्जन

बिहिवार, चैत ६, २०७६

झापा । शारिरीक रुपमा अशक्त भए पनि सोर्मा ब्यवसायमार्फत् जीवनयापनलाई सहज बनाउँदै झापाको बिर्तामोडका दिपेश योञ्जनले उदाहरण पेश गरेका छन् । बिर्तामोड नगरपालिका वडा नं. १ का दिपेश योञ्जन २०७३ सालको दशैँताका मोटरसाइकल दुर्घटनामा परेपछि अहिले बैशाखीको सहारामा छन् ।

दुर्घटनामा योञ्जनको बायाँ नलीखुट्टाको हड्डी भाँचिएको थियो । एक महिना हस्पिटल बसेर उपचार गराएपछि २ वर्षसम्म घरमै आराम गरेका योञ्जन यतिबेला वैशाखीको साहारामा हिँडडुल गर्छन् । उनले वैशाखीलाई आफ्नोमात्र सहारा बनाएका छैनन्, परिवार पाल्ने व्यवसाय गर्न पनि वैशाखीकै भर छ ।

श्रीमतीको साथ र सहयोगमा योञ्जन दम्पत्तीले शनिश्चरेरोडबाट नेपाल बैंकतर्फ जानेबाटोको छेउमा सोर्मा ब्यवसाय सुरु गरेका छन् । माघ महिनामा सोर्मा स्टेसनको नामबाट सुरु गरेको ब्यवसाय यतिवेला झापा जिल्लामा नमूना बन्दै गएको बताइएको छ । सेन्डविच बनाउने सोचका साथ सोर्माको ब्यापार सुरु गरेको योञ्जनको भनाई छ ।

सोर्मालाई विशेषतः अरवियन मुलुकहरुमा लोकप्रिय खाना अर्थात् नास्ताको रुपमा लिने गरिन्छ । यही अरवियन खानेकुराको ब्यापार थालेका दिपेश पाँच वर्षसम्म खाडी मुलुकमा रहँदा यो सीप सिकेको बताउँछन् । नयाँ सोचका साथ बिर्तामोडमा नयाँ परिकार भित्र्याएका दिपेश नेपाल मै बसेर केही गरौं भन्ने सोचका साथ सोर्माको ब्यापारलाई अपनाएको बताउँछन् ।

होटल सम्बन्धी केही ज्ञान भएकाले सुरु गरेको ब्यवसायमा आवश्यक सामग्री भारतबाट ल्याउँदा केही झन्झट भएको बताउँदै परिवारको राम्रो सहयोग पाएको उनको भनाई छ । सानो ठाउँ भाडामा लिएर सुरु गरेको विदेशी परिकार सोर्मा खान दैनिक १० जना ग्राहक नियमित आउने गरेको दिपेशको भनाई छ ।

नयाँ ब्यवसायमा लाग्दा श्रीमतीबाट निरन्तर सहयोग पाइरहेको बताउने दिपेशले झापा मै नमूना ब्यवसाय सुरु गर्दै जीवनयापनमा सहजता ल्याउने प्रयासमा जुटेको बताउँछन् । सहकारी संस्थाबाट दुई लाख रुपैयाँ ऋण लिएर ब्यवसाय सुरु गरेका दिपेश भन्छन, “श्रीमतीको सहयोग नभएको भए ब्यवसायिक ढंगले अगाडि बढ्न गाह्रो हुने थियो ।”

स्वास्थ्यका लागि फाइदाजनक सोर्मा निर्माणका लागि चना, दही, आलु, कुखुराको मासु, रोटी लगायतका सामग्री प्रयोग हुने गरेको छ । शारिरीक दुर्वलता भए पनि सहज जीवनयापनका लागि दिपेश योञ्जनले प्रस्तुत गरेको उदाहरण नमूना बनेको छ ।

सम्बन्धित खबर