२०८१ पौष १९, शुक्रवार , ११:३९:२० बजे

Sajhamanch
'

काष्ठमाण्डप रोटरी क्लबद्वारा झापाकी शान्तालाई सम्मान

मङ्गलवार, फागुन २७, २०७६

काठमाडौं । काष्ठमाण्डप रोटरी क्लबले ११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा झापाकी महिला समाजसेवी भागिरथा चापागाईं (शान्ता)सहित तीन जनालाई काठमाडौंमा सम्मान गरेको छ ।

क्लबले समाजिक कार्यमा सक्रिय काठमाडौंकी रिता राई र अनिता बज्राचार्य तथा झापाकी शान्तालाई सम्मान गरेको हो । तीनै जनालाई काठमाडौंको होटल र्यासिनमा आयोजित समारोहका बीच कदरपत्र, खादा र दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।

झापा कनकाई नगरपालिकाकी शान्ता बौद्धिक अपाङ्गता भएका बालबालिकाको पक्षमा १५ वर्षदेखि क्रियाशिल छन् । उनी सुस्त मनःस्थिति सरोकार समाज नेपालकी अध्यक्ष हुन् । कनकाई नगरपालिकामा अहिले संस्थाले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई आश्रय दिइरहेको छ ।

राई अनाथ बालबालिका र बज्राचार्य अटिजम भएका बालबालिकाको पक्षमा क्रियाशिल छन् । सम्मान पाएपछि सम्बोधन गर्दै शान्ताले समाजसेवाको बाटोमा थप क्रियाशिल भएर हिँड्न प्रेरणा मिलेको बताइन् ।

विगत १० वर्षदेखि समाजमा पृथक काम गरेर फरक छाप बनाएका प्रेरणादायी महिलालाई संस्थाले सम्मान गर्दै आएको रोटरी क्लबका निराजन भट्टराईले बताए । उनका अनुसार वर्षेनी नेपालभरबाट उत्कृष्ट नारी छानेर पुरस्कृत गरिँदै आएको छ ।

क्लबका पास्ट प्रेसिडेन्ट प्रदीप श्रेष्ठ, फस्ट लेडी प्रिती थापा, पास्ट फस्ट लेडी उषा श्रेष्ठ, कोषाध्यक्ष सोफी उपाध्याय, आईभीपी सञ्जिव रिजाल लगायतले सम्मानित व्यक्तित्वहरुलाई प्रमाण पत्र, खादा लगायत प्रदान गरेका थिए ।