सुरुङ्गा । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा भईरहेको जिल्ला स्तरीय फुटबल प्रतियोगितामा आयोजक टिमले जुनतारा महिला फुटबल क्लव खुदुनावारीलाई ५—० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
आयोजकका तर्फबाट लक्ष्मी श्रेष्ठले २ गोल तथा बविता मगर र छत्रिका चौधरीले समान एक एक गोल गर्नुभयो । बाँकी एक गोल कनकाईले उपहार गोल पाएको थियो । आजको खेलमा कनकाईकी सिमन राई वुमन अफ दी म्याच हुँदै नगद एक हजार रुपैँया प्राप्त गरिन् । कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा झापाका ८ महिला टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई नगद ६० हजार र ३५ हजार रुपैँया पाउनेछन ।
कनकाईले पहिलो खेलमा समेत दमकको महिला टिमलाई ७—० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको थियो ।
कनकाईले अब उपाधिका लागि भोलीको शिवसताक्षी नगरपालिका र पारिजात अर्जुनधारा विचको बिजेतासँग खेल्ने आयोजक समितिकी संयोजक अम्बिका खरेलले बताइन् ।