२०८१ मंसिर ९, आइतवार , ०२:२०:२१ बजे

Sajhamanch
'

बर्सेनि आत्महत्याको संख्या बढ्दैः यसरी न्यूनीकरण गरौं

बिहिवार, फागुन २२, २०७६

पछिल्लो समय आत्माहत्या गर्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ । झन्डै आठ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्यांक छ ।

नेपालमा पनि आत्महत्या गर्ने मानिसहरुको संख्या बर्सेनी बढ्दो आवस्थामा रहेको पाएको छ । डब्लुएचओको पछिल्लो तथ्यांकले नेपाल धेरै आत्महत्या हुने मुलुकहरुको सूचीमा परेको देखाउँछ । आत्महत्या गर्ने देशहरुको सूचीमा नेपाल विश्वको दशौं स्थानमा पर्दै आएको छ । सो तथ्याङ्कका अनुसार प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्या १३ प्रतिशतका दरले वृद्धि हुँदै गइरहेको छ ।

आत्महत्या गर्नेहरुमा युवा तथा किशोर किशोरीहरुको संख्या बढी रहेको तथ्यांक छ । नेपालमा बर्सेनि ५ हजार ४०० जनाभन्दा बढी मानिसहरुले आत्महत्या गर्ने गरेको देखिन्छ ।

झापा जिल्लाको तथ्याङ्क हेर्दा गत साउनदेखि माघ मसान्तसम्म ७ महिनाको अवधिमा ९१ जनाले आत्माहत्या गरेका छन् । जसमा पुरुषको संख्या ६७ जना रहेको छ भने २४ जना महिलाले सो अवधिमा आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त तथ्यांक केलाउँदा २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरु बढीमात्रामा आत्महत्या गर्नेमा पर्दछन् । सो उमेर समूहका २२ जनाले बितेको ७ महिनामा आत्महत्या गरेका छन् । यसरी नै ११ देखि २० वर्ष उमेर समूहका १८ जनाले, ३१ देखि ४० उमेर समूहका १३ जनाले, ४१ देखि ५० वर्ष उमेर समूहका ८ जनाले, ५१ देखि ६० वर्ष उमेर समूहका १४ जनाले र ६० वर्षभन्दा माथिका १६ जनाले आत्महत्या गरेका छन् ।

गत आर्थिक वर्षहरु २०७३/०७४ मा २३० जनाले, २०७४/०७५ मा २४७ जनाले, २०७५/०७६ मा २८८ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीसँग रहेको झापाका प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिएका हुन् ।

आत्महत्याको कारण

आत्महत्या गर्ने अवस्थामा पुग्नुको पछाडि धेरै कारणहरु हुन सक्छन् । आत्महत्याको ९० देखि ९५ प्रतिशत कारण मानसिक रोग तथा डिप्रसन नै भएको पाइएको छ । आर्थिक नोक्सानी, प्रेममा असलफता, काममा असुरक्षा, अरुसँग आफूलाई तुलना गर्नु, असन्तुष्टि, दूव्र्यवहारको कारण र कतिपय वंशानुगत कारणले पनि आत्माहत्या गर्ने गरेको प्रहरीसँग तथ्याङ्कीय अनुभव छ ।

न्यूनीकरण

विषेशगरी परिवारका सदस्यले आत्महत्याको लक्षणलाई पहिचान गरेर उत्प्रेरणा जगाउनु पर्दछ । नियमित योग, ध्यान, प्राणायाम गराउनु पर्छ । ध्यानले मान्छेलाई नकारात्मक विचारबाट जोगाउनुको साथै जिउने कलाको विकास गराउँछ । त्यसैगरी लागु पदार्थको लतमा फसेको भए त्यसबाट मुक्त गराउनु पर्छ । आत्महत्या रोकथामका लागि ग्रामीण क्षेत्रमा गएर प्रहरी, सामाजिक कार्यकर्ताहरु, गैरसरकारी संस्थाहरुले अभिमुखीकरण कार्यक्रम गर्नु पर्दछ ।

आत्महत्या गर्नेको संख्या यसरी बर्सेनि बढिरहँदा यसको कारण र रोकथाम के हो भनेर खोज्न र सावधानतर्फ लाग्नु सबैका लागि आवश्यक देखिन्छ ।

बिहिवार, फागुन २२, २०७६ | मुख्य समाचार, समाज

सम्बन्धित खबर