बिर्तामोड । तत्कालीन संविधानसभाका सदस्य सुधिरकुमार शिवाकोटीले पराजितलाई राष्ट्रियसभामा ल्याएर प्रधानमन्त्री बनाउन नेकपाभित्र भइरहेको संविधान संशोधनको प्रस्तावमा घोर आपत्ति रहेको बताएका छन् । नेपाल प्रेस युनियन झापाको आयोजनामा बिहीबार सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता शिवाकोटीले संविधान संशोधनलाई केटाकेटीको खेलजस्तो नसम्झन सुझाव पनि दिएका छन् ।
झापा कांग्रेसका पूर्वसभापतिसमेत रहेका शिवाकोटीले अमुक व्यक्ति वा अमुक दलको स्वार्थ केन्द्रित संविधान संशोधन कांग्रेसलाई स्वीकार्य नहुने चेतावनी पनि दिएका छन् । कांग्रेस आन्तरिक कलहकै कारण निर्वाचनमा दोस्रो पार्टी भएको स्मरण गर्दै उनले नेकपा पनि अहिले चरम आन्तरिक कलहमा फसेको र यसले बहुमतीय नेकपा नेतृत्वको सरकारलाई नै अफ्ठ्यारोमा पार्ने धारणा राखेका छन् ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले नेकपा नेतृत्वले सरकार चलाएको २ वर्ष अवधिमा ६१ भन्दा बढी गल्ती गरिसकेको र जनताले गल्तीको सजाय आगामी निर्वाचनमार्फत दिने दावी गरे । संघीय संरचना अनुरुप पार्टी संगठन समायोजनपश्चात पहिलोपटक आयोजना गर्न लागिएको क्षेत्रीय सम्मेलनले आम कार्यकर्तामा भातृत्वप्रेम बृद्धि गर्दै झापा कांग्रेसलाई सबल, सक्षम र सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाई छ ।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको सभापतित्व र सचिव डिल्लीराम घोर्साईंको सञ्चालन रहेको कार्यक्रममा झापा क्षेत्र नंं २ का क्षेत्रीय सभापति खगेन्द्र मैनालीले क्षेत्रीय सम्मेलनका बारे जानकारी दिएका छन् । मैनालीले यही फागुन १७ गते नेपाली कांग्रेस झापा क्षेत्र नं २ को क्षेत्रीय सम्मेलन हुने अवगत गराएका हुन् ।
संघीय संरचना अनुसार संगठन पुनर्संरचना भएपछि कार्यकर्ताबीच आपसी सद्भाव बृद्धि गर्दै संगठन सुदृढिकरण, कार्यकर्ता परिचालन तथा केन्द्रीय नीति र निर्देशनलाई कार्यकर्तासम्म पुर्याउन क्षेत्रीय सम्मलेनको आयोजनाको गरिएको सभापति मैनालीको भनाई छ ।