शिवसताक्षी । शिवसताक्षीको उत्तरी क्षेत्र वडा नं. ११को सिरान फोक्लेनको टापु र प्रगति टोल जोड्ने दूधे खोलामा झोलुङ्गे पुल बन्ने भएको छ ।
मंगलबार प्रदेश सांसद झलसिं दर्लामी र शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले संयुक्त रुपमा झोलुङ्गे पुलको शिल्यान्यास गरेका हुन् ।
स्थानीय विकास मन्त्रालय अन्तर्गत स्पेसन ब्रिज डिभिजन कार्यालयबाट विनियोजित १ करोड ५० लाख ७० हजारको लागतमा सो पुल बनाउन लागिएको हो । पुलको लम्बाई १३६.६० मिटर र चौडाई ४ फिट रहने रुविना निर्माण सेवा कम्पनीका राम विलक्षण यादवले जानकारी दिए । पुल निर्माणका लागि रुविना निर्माण कम्पनीसँग गएको मंसिरमा १८ महिनामा पुलको सम्पूर्ण काम सक्ने गरी सम्झौता भएको जनाइएको छ ।
शिल्यान्यासका क्रममा बोल्दै सांसद दर्लामीले दूधे खोलाका कटानको कारण टापुको रुपमा रहेको बस्तीलाई जोड्नका लागि झोलुङ्गे पुल बनाउन लागेको बताए । उनले ठुला मोटर बाटो बनाउ सम्भव नहुने स्थानहरुमा यस्ता पुलको आवश्यक ठानी शिवसताक्षीका विभिन्न स्थानहरुमा पुल निर्माण गर्न लागिएको जानकारी दिए । फोक्लेन टापु क्षेत्रका बासिन्दाका लागि खानेपानीको पनि प्रवन्ध मिलाउन योजना बनाउने उनले जानकारी दिए । निर्माण कम्पनीलाई तोकिएको समयमा काम सक्न पनि संसाद दलार्मी निर्देशन दिएका छन् ।
शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले शिवसताक्षीको अति विकटको रुपमा रहेको क्षेत्रलाई पुल बनेपछि सहज हुने बताइन् । सो क्षेत्रको उत्तरी भेग सागरनाथको बन क्षेत्रसँग जोडिएको छ भने पश्चिम र दक्षिणमा दूधे खोला, पूर्वमा राते होली पर्दछ । फोक्लेनको टापुमा ३५ घर परिवार रहेका छन् । पुल बनेपछि १५० जनसंख्या लाभान्वित हुने बताइएको छ ।
शिवसताक्षी नगर कार्यापालिका सदस्य गीता खरेल अध्यक्षतामा भएको शिल्यान्यास कार्यक्रममा नेकपा शिवसताक्षी अध्यक्ष मेहन्द्र भट्टराईले स्वागत गरेका थिए भने शिक्षक श्रीप्रसाद खरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।